भारतसँग पराजित भएसँगै पाकिस्तान समूह चरणबाटै बाहिरिने डर

काठमाडौं, २८ जेठ । आइसिसी टी-२० क्रिकेट विश्वकपमा भारतले लगातार दोस्रो जीत हासिल गरेको छ । आइतबार राति भएको खेलमा भारतले चिरपरिचित प्रतिद्वन्द्वी पाकिस्तानलाई ६ रनले हराएको हो ।

भारतले दिएको १२०‌ रनको लक्ष्य पछ्याएको पाकिस्तानले पूरा २० ओभरमा ७ विकेटको क्षतिमा ११३ रन मात्र बनायो । पाकिस्तानका लागि मोहम्मद रिजवानले सर्वाधिक ३१ रन बनाए । भारतका जसप्रीत बुमराहले ४ ओभरमा १४ रन दिएर ३ विकेट लिए । हार्दिक पान्ड्याले २ विकेट लिँदा अर्शदीप सिंह र अक्षर पटेलले एक-एक विकेट लिए ।

कुनै समय ८०-३ को अवस्थामा रहेको पाकिस्तानले त्यसपछि ४० रन बटुल्न सकेन । भारतीय बलरले निरन्तर दबाब दिएसँगै विकेट गुमाइरहँदा अन्तिम २ ओभरमा २१ रन चाहिने अवस्थामा खेल पुगेको थियो । बुमराहले ३ रन मात्र दिँदा अन्तिम ओभरमा पाकिस्तानले ११ रन जोड्यो तर त्यो पर्याप्त रहेन ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको भारत १९ ओभरमा ११९ रनमा अल आउट भएको थियो । भारतका लागि रिषभ पन्तले सर्वाधिक ४२ रन बनाए । अक्षर पटेलले २० तथा कप्तान रोहित शर्माले १३ रन बनाउँदा अन्यले दोहोरो अङ्कमा रन बनाउनै सकेनन् ।

कुनै समय ८१-३‌ को अवस्थामा रहेको भारतलाई सस्तैमा रोक्न पाकिस्तानका नसीम साहले ४ ओभरमा २१ रन दिएर ३ विकेट लिए । त्यस्तै हारिस राउफले ३ ओभरमा २१ रन दिएर ३ विकेट लिए । मोहम्मद आमिरले २ विकेट लिँदा शाहीन अफ्रिदीले १ विकेट लिए ।

यस नतिजासँगै समूह ए मा भारतको २ खेलबाट ४ अंक भएको छ । अमेरिकाको पनि समान खेलबाट समान अंक छ । दुई खेलमा जीतविहीन पाकिस्तान बाहिरिने खतरा बढेको छ । अमेरिकासँग पराजित भइसकेको पाकिस्तान अब बाँकी दुवै खेल केही ठुलो अन्तरले जितेर अन्य नतिजामा भर पर्नुपर्ने हुन्छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय