टी-२० विश्‍वकपमा आज भारत र पाकिस्तान खेल्दै

काठमाडौं, २७ जेठ । अमेरिका र वेस्ट इन्डिजमा जारी आइसिसी टी-२० विश्‍वकप क्रिकेटमा आज बहुप्रतिक्षित ‘हाइ-भोल्टेज’ खेल हुँदै छ । समूह ए अन्तर्गतको खेलमा आज भारत र पाकिस्तान खेल्दै छन् ।

न्युयोर्क स्थित नासाउ कउन्टी अन्तर्राष्ट्रिय रङ्गशालामा हुने खेल नेपाली समयअनुसार बेलुका सवा ८ बजेदेखि सुरु हुने छ । भारतको कप्तान रोहित शर्मा तथा पाकिस्तानको कप्तान बाबर आजम छन् ।

पाकिस्तानले आफ्नो पहिलो खेलमा अमेरिकासँग हार व्यहोरेको थियो । त्यसकारण पाकिस्तानलाई आजको खेल जित्‍नैपर्ने दबाब छ । भारतसँग पाकिस्तान पराजित भएमा भारत र अमेरिकाको समान २ खेलबाट ४ अंक हुने छ ।

अमेरिकाले अब बाँकी आयरल्यान्ड र क्यानडासँगको मध्ये एक खेल र भारतले बाँकी अमेरिका र क्यानडासँगको मध्ये एक खेल मात्र जितेमा पनि पाकिस्तान बाहिरिने छ । त्यसकारण पाकिस्तानलाई अब ३ वटै खेल जित्नुपर्ने दबाब छ ।

टी२० अन्तर्राष्ट्रिय क्रिकेटमा पाकिस्तान र भारत हालसम्म १२ पटक खेलेका छन् । तीमध्ये भारतले ९ खेल जित्दा पाकिस्तानले ३ खेल मात्र जितेको छ । सन् २०२१ को टी२० विश्‍वकपमा पाकिस्तानले भारतमाथि १० विकेटको जीत निकालेको थियो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय