नयाँ शक्तिको लयमा फर्कंदै नेसपा

प्रतीक भट्ट

काठमाडौं, २७ जेठ । २०७३ जेठ ३० गते काठमाडौंको दशरथ रंगशालाबाट नयाँ शक्ति पार्टी घोषणा हुँदा बैकल्पिक राजनीतिक शक्तिको उदयसँगै त्यसको नेतृत्वकर्ता पुर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईको तारिफ गर्ने धेरै थिए।

हजारौंको उपस्थिति भएको घोषणा सभामा पुगेका सबैजसो दलका शिर्ष नेताले नयाँ शक्तिको उदयलाई पुराना परम्परागत पार्टीको लागि चुनौतीको रुपमा समेत लिएका थिए। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा,नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली,नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा लगायत सबैजसो दलका नेताले रंगशालामा उभिएर नयाँ शक्तिलाई आ-आफ्नो दलको अबको प्रतिस्पर्धी ठानेका थिए। ‘अबको निकास,आर्थिक समृद्धि र बिकास’ भनेर बाबुरामले सुरु गरेको नयाँ शक्तिलाई पुरानै पात्र र प्रवृत्ति बोकेका केही ब्यक्तिले निजि स्वार्थ अनुरुप प्रयोग गर्न खोज्दा धमिलियो र झन्डै-झन्डै विलयको अवस्थामा पुर्‍यायो।

तत्कालीन अवस्थामा एक लाख १८ हजार पार्टी सदस्य सहित नयाँ शक्ति घोषणा भएको थियो। पार्टीमा सामाजिक अभियन्ता, कलाकारदेखि पुर्व प्रशासक,राजनीतिज्ञ र सुरक्षा निकायका पुर्व बरिस्ठ अधिकृत सहभागी थिए। त्यससँगै पुर्व माओवादी पृष्ठभुमिका नेताकार्यकर्ता पनि सहभागी भए। पछि तिनै माओवादी नेताकार्यकर्ताको कारण पार्टी विलयको बाटोमा द्रुतगतिमा दौडियो र बाबुरामलाई समेत अगाडि बढ्न दिएनन् । अन्ततः पद,पैसा र पावरको लागि मरिहत्ते गर्ने माओवादी पृष्ठभुमिका नेताकार्यकर्ताको फिर्तीसँगै नयाँ शक्ति पुनःपुरानै लयमा फर्किने तरखरमा छ।

बैकल्पिक राजनीतिक शक्ति निर्माणमा थप बल पुग्ने भन्दै डा.भट्टराईले नयाँ शक्ति पार्टीलाई अन्य दलसँग एकता गरे।उपेन्द्र यादवसँग एकता गरेर समाजवादी र महन्थ ठाकुरसँग एकता गरेर जसपा बनाएका बाबुरामले उपेन्द्र र महन्थलाई छाडेर अहिले नेपाल समाजवादी पार्टी (नेसपा) को नेतृत्व गरिरहेका छन् । नेसपा भित्रका केही ब्यक्ति पनि सत्ता र शक्तिको लागि माओवादी केन्द्र तर्फ सोझिएपछि बाबुरामले नेसपालाई नयाँ शक्तिकै रुपमा फर्काउन पुनः प्रयास थालेका छन् ।

नेसपाले यही जेठ ३० गते पार्टी स्थापना दिवस मनाउने भएको छ। जेठ ३० नयाँ शक्तिको स्थापना दिवस हो। बैकल्पिक राजनीतिक शक्तिको आवस्यकता झन् बढ्दै गएको भन्दै नेसपा सचिवालयको भर्चुअल बैठकले जेठ ३० गते प्रज्ञा–प्रतिष्ठानमा पार्टी स्थापना दिवस मनाउने निर्णय गरेको छ। यसका लागि डा.भट्टराई देश दौडाहा सकेर काठमाडौं फर्केका छन् ।यतिबेला डा.भट्टराई नयाँ शक्ति कै लयमा नेसपालाई थप बलियो बनाउने कसरत गरिरहेका छन् ।

२०७३ जेठ ३० गते आइतबार ‘नयाँ शक्ति नेपाल’ पार्टी घोषणा हुँदा डा.भट्टराईसँग भएका मध्य थोरै नेता मात्रै अहिलेसम्म उनको साथमा छन् ।तर,यो बिचमा जसले बाबुरामको साथ छाडे उनीहरु मध्य धेरैको राजनीतिक जीवन खासै फष्टाएको छैन। माओवादीमा फर्किने त्यो समुहमा रहेका देवेन्द्र पौडेलले बाहेक अरुले मन्त्री हुने अवसर पाएनन्। केहीले टिकट पाएर पनि जितेनन भने केहीले टिकट पाउन नै सकेनन् ।

अहिले पार्टीको नाम ‘नेपाल समाजवादी पार्टी’ भए पनि नयाँ शक्तिकै विचार, सिद्धान्त, लक्ष्य रहेकाले ‘नयाँ शक्ति’ स्थापना भएको दिनलाई नै पार्टी स्थापना दिवस मनाउने निर्णय भएको सो पार्टीले जनाएको छ। पार्टी प्रबक्ता कृष्ण शर्माका अनुसार जेठ ३० गते संघ, प्रदेश र स्थानीय तहमा विभिन्न कार्यक्रमहरू आयोजना हुनेछ।

नेसपाले समतामूलक समृद्धि, समानुपातिक/समावेशी/सहभागितामूलक लोकतन्त्र, सुशासन/सदाचार, समुन्नत समाजवाद,स्वाधिनता/सार्वभौमसत्ताजस्ता सिद्धान्त अघि सारेकाे छ। यसैगरी प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री नभइ मुलुकमा राजनीतिक स्थिरता र देश समृद्ध नहुने पनि नेसपाको बुझाइ छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय