कहिले होला वाग्मती सङ्लो ? (तस्वीरमा हेरौं)

विसं २०७० जेठ ५ गते राजधानी काठमाडौंको सभ्यताको स्रोत वाग्मतीलाई स्नान गर्न योग्य बनाउने उद्देश्यका साथ ‘वाग्मती सफाइ महाअभियान’ सुरु भएको थियो । त्यो समयमा पहिलो चरणमा पशुपति क्षेत्रसम्मको नदी सफा गर्ने लक्ष्य राखिएको थियो । सोही अनुरुप ५०औँ हप्ताको कार्यक्रम भैरहदा तत्कालीन राष्ट्रपति डा.रामवरण यादवलगायत विशिष्ट व्यक्तित्वले गौरीघाटमा मुख धोएका थिए।
अहिले देशको सबैभन्दा ठुलो र लामो स्वयंसेवी अभियान भनेर प्रचार गरिएको ‘वाग्मती सफाइ महाअभियान’ले ११ वर्ष पुरा गरेर १२ वर्षमा प्रवेश गरेको छ । हाम्रा नदी, सम्पदा र सार्वजनिक स्थल सफा र स्वच्छ राख्न भन्दै सुरु भएको यो महाअभियानले तिलगङ्गामा कार्यक्रम आयोजना गरेर पर्यटनमन्त्रीदेखि सांसदहरु बोलायो। कार्यक्रम भव्य पनि भयो होला तर, वाग्मती ? बाग्मती जस्ताको त्यस्तै छ । अझ भनौं अब राष्ट्रपति वा मुख्यसचिव आएर मुख धुनसक्ने अवस्था पनि छैन !
तत्कालीन प्रधानमन्त्री डा.बाबुराम भट्टराईको पालामा मुख्य सचिव लीलामणि पौड्यालको विशेष चासो र अग्रसरतामा स्थानीय समेत जुटेर सुरु भएको वाग्मती सफाइ महाअभियान आजसम्म चलिरहेको छ। तर, यो महाअभियानले के कति महान लक्ष्य हासिल गर्यो त्यो चाहिँ हेर्न वाग्मती किनारसम्म पुगे स्पष्ट देखिन्छ।

भनिन्छ वाग्मती सफाइको नाम गरेका झन्डै २२ वटा संघ/संस्था पनि यहाँ सक्रिय छन् ।अझै भनौं राज्यको झन्डै २१ अर्ब रुपैयाँ खर्च पनि भैसकेको तथ्यांक सार्बजनिक पनि भएका छन् ।केही स्थानीय संस्थाले विशुद्ध सामाजिक सेवा स्वरुप हरेक हप्ता वाग्मती सफाइ अभियान चलाइरहेको छ।कसैको सहयोग नलिई पनि पुडासैनी मैत्री समाजले त ५३८ औं हप्ताको वाग्मती सफाइ कार्यक्रम आज सकेको छ।
केही यस्ता संस्था पनि छन् जसले वाग्मती सफाइको नाममा पैसा लिन्छन् तर वाग्मतीमा नै आउँदैनन। यसअघि पनि जनचेतना स्वरुप वाग्मतीको पानी बग्ने सुन्दरीजलदेखि काठमाडौँबाट बाहिरिने चोभारसम्म मानव साङ्ग्लो बनाउनेदेखि वाग्मतीमा जलयात्रा गर्ने काम पनि भएको छ। प्रहरी,सेना समेत सरकारी कर्मचारी र स्थानीय समेत मिलेर धेरै पटक सचेतना जगाउने काम पनि भएकै हो।तर,काठमाडौं सहरको बीचबाट बग्ने वाग्मती नदीमा सफा पानी बगेको हेर्न भने अझै पाइएको छैन।कतिपय स्थानमा अहिले पनि ढल सीधै यसमा जोडिएकै छ।
हेरौँ वाग्मतीको गोकर्ण क्षेत्रदेखि पशुपति मन्दिरसम्म नदी किनारबाट देखिएका केही तथ्यगत तस्वीरहरु:-












