नामिबियामाथि स्कटल्यान्डको जीत
काठमाडौं, २५ जेठ । स्कटल्यान्डले आइसिसी टी–२० विश्वकप २०२४ मा पहिलो जीत दर्ता गरेको छ । समूह बी अन्तर्गत शुक्रबार विहान सम्पन्न खेलमा नामिबियालाई ५ विकेटले हराउँदै स्कटल्यान्डले पहिलो जित हात पारेको हो ।

नामिबियाले दिएको १५६ रनको लक्ष्य स्कटल्यान्डले १८.३ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । स्कटल्यान्डको जितमा कप्तान रिची बेरिङटन सर्वाधिक ४७ रनमा नट आउट रहे ।माइकल लिस्कले ३५ रन बनाउँदा माइकल जोन्सले २६ र ब्रेन्डन म्याकमुलनले १९ रनको योगदान दिए । नामिबियाका कप्तान जेरार्ड एरास्मसले २ विकेट लिँदा, डेविड विज, टागेंनी लुगांमेनी र बनार्ड स्कोल्ट्जले १–१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नामिबियाले २० ओभरमा ९ विकेट गुमाउँदै १५५ रन बनाएको थियो । कप्तान एरास्मसले ५२ रन बनाए भने जेन ग्रीनले २८, निकोलस डेभिनले २० रन बनाए ।
स्कटल्यान्डका ब्राड ह्वीलले ४ ओभरमा ३३ रन खर्चेर ३ विकेट लिए । ब्राड करीले २, क्रिस सोल, क्रिस गिभ्स र माइकल लिस्कले १–१ विकेट लिए । पहिलो खेलमा नामिबियाले ओमानलाई सुपर ओभरमा हराएको थियो भने स्कटल्यान्ड र इंग्ल्यान्डबीचको खेल वर्षाको कारण रद्द भएको थियो ।
यस जीतसँगै स्कटल्यान्डले २ खेलमा ३ अंक जोडेको छ । नामिबियाको २ खेलबाट २ अंक छ । यसै समूहमा अस्ट्रेलियाको एक खेलबाट २ अंक छ ।