फिफा विश्‍वकप छनौट: युएईसँग नेपालको हार

काठमाडौं, २४ जेठ । फिफा विश्वकप २०२६ दोस्रो चरणको छनौट अन्तर्गत बिहिबार भएको खेलमा नेपालले हार व्यहोरेको छ । साउदी अरेबियामा भएको खेलमा नेपाललाई युएईले ४-० गोलअन्तरले हराएको हो ।

युएईको जीतमा हरिब अबदल्लाले दुई गोल गरे भने अली सालेश र हाजेम मोहमदले एक एक गोल गरे । पहिलो हाफमा दुई गोल गरेको युएईले दोस्रो हाफमा पनि दुई गोल थप्यो ।

खेलको १२औं मिनेटमा अल्दुल्लाह अलहम्मादीको क्रसमा हरिबले शटिक हेडर प्रहार गर्दै गोल गरे । उनको शक्तिशाली हेडर किरण चेम्जोङको हातमा लागेर गोलपोस्टभित्र छिरेको थियो । त्यसको दुई मिनेटमा पुनः उनले नै गोल गर्दै अग्रता दोब्बर बनाए ।

दोस्रो हाफको ५३औं मिनेटमा सालेहले गोल गर्दै युएईलाई ३-० को अग्रता दिलाए । ७५औं मिनेटमा हाजेमले करिब ३५ यार्ड टाढाबाट शानदार गोल गर्दै युएईलाई ४-० को अग्रतामा पुर्‍याए । त्यसपछि थप गोल भएनन् ।

यीबाहेक युएईले अन्य दर्जनौं अवसरहरु पाएपनि गोल भने हुन सकेन । नेपालले पनि एक-दुईवटा सुनौला अवसर खेर फालेको थियो । यस छनौट चरणमा पाँच खेल खेल्दा नेपालले पाँचवटैमा हार व्यहोरेको छ भने कुल १८ गोल व्यहोर्दा एक गोल पनि गरेको छैन ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय