प्रतिबन्ध फुकुवा गर्न सरकारलाई ‘टिकटक’को पत्र !
काठमाडौं ।युवा पुस्तामा लोकप्रिय रहेको सामाजिक संजाल ‘टिकटक’ले नेपाल सरकारलाई पुनः पत्र लेखेर प्रतिबन्ध फुकुवा गरिदिन आग्रह गरेको छ।
हाल नेपालमा बन्द रहेको टिकटकले यसअघि पनि पटकपटक सरकारलाई पत्र लेख्ने र प्रतिनिधि पठाउने गरेर प्रतिबन्ध हटाउन आग्रह गर्दै आएको छ। टिकटकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नै सम्बोधन गरेर पुनः पत्र लेख्दै यथाशीघ्र प्रतिबन्ध फुकुवा गरिदिन आग्रह गरेको स्रोतको भनाइ छ।
टिकटक कम्पनीको दक्षिण एसियाका सार्वजनिक नीति र सरकार सम्बन्ध प्रमुख फिर्दोस मोत्ताकिनले पत्र लेख्दै प्रधानमन्त्री प्रचण्डमार्फत् पुनः नेपाल सरकारको ध्यानाकर्षण गराएको छ। टिकटक साउथ एसियाले सञ्चार तथा सूचना प्रविधी मन्त्री र गृह मन्त्रीलाई समेत बोधार्थ पठाएको छ। यसभन्दा अगाडि पनि प्रतिनिधि नेपाल पठाएर संचार मन्त्री रेखा शर्मालाई भेटेर अनुरोध गरेको थियो।
त्यसभन्दा पहिले पनि टिकटकले २०२४ जनवरी २२ मा प्रधानमन्त्री प्रचण्डलाई पत्र लेखेर टिकटक बन्द नगर्न आग्रह गरेको थियो। त्यसपछि फेरि टिकटक साउथ एसियाका प्रतिनिधिले फेब्रुअरी पहिलो साता प्रधानमन्त्री प्रचण्डलाई भेटेका पनि थिए। तर,सरकारले प्रतिबन्ध हटाउन चाहेको थिएन।
बन्द गरिएको यो अवधिमा टिकटकले सरकारलाई ७ पटक पत्र लेख्दै अनुरोध गरेको छ। नेपाल सरकारसँग मिलेर काम गर्ने इच्छा हुदाँसमेत आफूहरूले गरेको प्रस्तावमा कुनै प्रतिक्रिया नजनाएकाले आफूहरू चिन्तित भएको भन्दै पत्रमा टिकटक बन्दबाट नेपालको राजस्वमा पनि ठूलो नोक्सानी पुर्याएको बताएको छ।
टिकटक बन्द भएको पाँच महिनामा एनसेलको एक अर्ब ४४ करोड रुपैयाँ गुमेको बताएको छ।त्यस्तै नेपाल टेलिकमले समेत डेढ अर्ब रुपैयाँ टिकटक बन्द भएको कारण नोक्सान भएको भनेको छ।