आयरल्यान्डविरुद्ध भारतको सहज जीत

काठमाडौं, २४ जेठ । आइसिसी टी-२० क्रिकेट विश्वकप अन्तर्गत बुधबार राति भएको खेलमा भारतले जीत हासिल गरेको छ । समूह ए को खेलमा भारतले आयरल्यान्डलाई ८ विकेटले हराएको हो ।
आयरल्यान्डले दिएको ९७ रनको सामान्य लक्ष्य भारतले १२ ओभर २ बलमा २ विकेटको क्षतिमा पूरा गर्यो । भारतका लागि कप्तान रोहित शर्माले सर्वाधिक ५२ रनको योगदान दिए । त्यस्तै रिसभ पन्त ३६ रनमा नटआउट रहे । आयरल्यान्डका मार्क अडेयर र बेन्जामिन ह्वाइटले एक-एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आयरल्यान्डले १६ ओभरमा अलआउट हुँदै ९६ रन बनाएको थियो । गारेथ डेलानीले सर्वाधिक २६ रन बनाए पनि जोसुवा लिटिलले १४ रन बनाए । कर्टिस क्याम्फरले १२ तथा लोरकान टकरले १० रन बनाए ।
भारतका हार्दिक पान्ड्याले ४ ओभरमा २७ रन दिएर ३ विकेट लिए । जसप्रीत बुमराहले ३ ओभरमा ६ रन दिएर २ विकेट लिए । अर्शदीप सिंहले ४ ओभरमा ३५ रन दिएर २ विकेट लिए । मोहम्मद सिराजले १ विकेट लिए ।

