चंचलले श्रीमती र ३ छोरीसहित आफैंलाई आगो लगाए

काठमाडौं, २३ जेठ । काठमाडौंको चाबहिल, सरस्वती नगरमा एक पुरुषले श्रीमती र ३ छोरीलाई मट्टितेल खनाएर आगो लगाएका छन् । सरस्वतीनगर बस्ने ५५ वर्षीय चञ्ञलबहादुर सिंहले श्रीमती र छोरीहरूलाई मट्टितेल छर्केर आगो लगाएपछि आफैंलाई पनि आगो लगाएको पाइएको छ।
गौशाला प्रहरीका अनुसार सिंहले श्रीमती बिन्दु र २४ वर्ष, १६ वर्ष र ८ वर्षकी छोरीहरूलाई आगो लगाएका हुन् ।आगोबाट जलेका पाँचै जनालाई कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ ।
२४ वर्ष र १६ वर्षकी छोरीहरूको शरीरको भाग धेरै जलेकाले आईसीयूमा राखी उपचार गरिएको छ । १६ वर्षकी छोरीको शरीरको ८० र २४ वर्षीया छोरीको शरीरको ५५ प्रतिशत भाग जलेको बर्न अस्पतालले जनाएको छ ।
अन्य तीन जनाको भने शरीरको ८ देखि १० प्रतिशत भाग जलेको अस्पतालले जनाएको छ ।

