यस्ता छन् नेपालले नेदरल्यान्ड्ससँग हार्नुका कारणहरु

प्रतिक भट्ट

काठमाडौं, २३ जेठ । आइसिसी टी-२० क्रिकेट विश्‍वकप अन्तर्गत मङ्गलबार मध्यराति सम्पन्‍न पहिलो खेलमा नेपालले नेदरल्यान्ड्ससँग ६ विकेटको हार व्यहोर्यो । नेपालले दिएको १०७ रनको सामान्य लक्ष्य नेदरल्यान्ड्सले ८ बल बाँकी छँदा ४ विकेटको क्षतिमा भेट्टायो ।

नेदरल्यान्ड्सका लागि ओपनर म्याक्स ओ डाउडले अविजित अर्धशतकीय पारी खेल्दै चार चौका र एक छक्कासहित ५४ रन बनाए । त्यस्तै विक्रमजित सिंहले २२ तथा साइब्रान्ड एङ्गलब्रेटले १४ रन बनाए । नेपालका सोमपाल कामी, अविनाश बोहरा र दीपेन्द्रसिंह ऐरीले १-१ विकेट लिए ।

नेपालले टस हारेर पहिले ब्याटिङको निम्तो पाएसँगै सोचेजस्तो ब्याटिङ प्रदर्शन गर्न सकेन । १०६ रनमा अलआउट भएको नेपालले बलिङ कसिलो गरेपनि पर्याप्त हुन सकेन ।

नेपाल नेदरल्यान्ड्ससँग पराजित हुनुका कारणहरु केके हुन सक्छन् त ? आउनुस् चर्चा गरौं ।

खराब ब्याटिङ

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले १९.२ ओभरमा अलआउट हुँदै १०६ रन मात्र बनायो । नेपालले पूरा २० ओभर पनि खेल्न सकेन । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन बनाए । त्यस्तै करण केसीले १७ रन बनाउँदा गुल्शन झाले १४ र अनिल शाहले ११ रन बनाए । अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

ओभरकास्ट कन्डिसनमा ब्याटिङ गर्न केही समस्या हुन सक्छ । नेपाली ब्याटरहरुले सम्हालिएर इनिङ अगाडि बढाउन नसक्दा लगातार रुपमा विकेट गुमायो । रोहितले मात्र सम्हालिएर ब्याटिङ गर्न सके । २०-३० रन मात्र बढी बनाएको भए नतिजा अर्कै आउन सक्थ्यो । खेलपछि कप्तान रोहितले पनि यस्तै प्रतिक्रिया दिएका थिए ।

नेदरल्यान्ड्सले पनि निकै राम्रो बलिङ प्रदर्शन गर्‍यो । सुरुवातदेखि नै नेपाललाई दबाबमा राख्दै नेदरल्यान्ड्सले कुनैपनि समय ब्याटिङ हावी हुन दिएको थिएन । एसोसिएटका उत्कृष्ट कप्तानका रुपमा चिनिने स्कट एडवार्ड्सले बलरलाई निकै राम्रोसँग प्रयोग गरेको देखिन्छ ।

फ्लप ओपनिङ

पछिल्लो समय नेपालको ओपनिङ ब्याटिङ ठुलो समस्याका रुपमा देखिएको छ । नेदरल्यान्ड्सविरुद्ध पनि आसिफ शेख ४ र कुशल भुर्तेल ७ रनमै पेभेलियन फर्किएका थिए । ओपनरहरु चाँडै आउट हुँदा मध्यक्रमका ब्याटरलाई दबाब बढ्छ । त्यही दबाबका कारण अनिल शाहले पनि ठुलो शट खेल्ने क्रममा विकेट गुमाए । त्यसपछि कुशल मल्लले पनि ठुलो शट खेल्ने धुनमा विकेट गुमाए ।

पावरप्ले सम्म ओपनरले सम्हालिएर खेल चलाउन सकेको भए मध्यक्रमका ब्याटरले बिना दबाब खेल्दै स्कोरबोर्ड चलायमान राख्दै बलरलाई केही दबाबमा राख्‍न सक्थे । ओपनिङको समस्या सुधार नभए नेपाललाई अन्य खेलहरु पनि जित्‍न कठिन पर्ने निश्‍चित देखिन्छ ।

क्याच ड्रप, म्याच ड्रप

फिल्डिङमा निकै इलेक्ट्रिक रहने नेपाली टोलीले नेदरल्यान्ड्ससँगको खेलमा दुईवटा क्याच ड्रप गर्यो । एउटा क्याच विक्रमजित सिंहको थियो जसलाई सोमपाल कामीले छोडेका थिए । तर त्यसको अर्को ओभरमा भने दीपेन्द्रले उनलाई एलबिडब्लु आउट गराएका थिए ।

त्यसपछि नेदरल्यान्ड्सलाई १८ बलमा १९ रन चाहिएको अवस्थामा कप्तान रोहित पौडेलले लङ अफमा म्याक्स ओडाउडको क्याच छोडे । ओडाउड सुरुवातदेखि नै क्रिजमा टिकेर खेलिरहेका थिए । त्यस अवधिसम्म कुनै रिस्क नलिएका उनले १८औं ओभरको पहिलो बलमा भने लङअफमा प्रहार गरेको बल कप्तान रोहितले छाडेका थिए ।

खेलपछि सोमपालले भने दोस्रो क्याच छुटेको समय नेदरल्यान्ड्सले खेल लगभग जित्‍ने निश्‍चित भइसकेकोले त्यसलाई टर्निङ प्वाइन्ट भने भन्‍न नसकिने बताएका थिए । यद्यपि क्याच ड्रपले मानसिकतामा असर गर्ने गर्छ । त्यसैले भनिन्छ नि क्याच ड्रप हुनु भनेको म्याच ड्रप हुनु हो ।

अर्कोतर्फ नेदरल्यान्ड्सका खेलाडीहरुले भने उत्कृष्ट क्याचहरु लिएका थिए ।

म्याक्स ओ डाउडको सेन्सिबल ब्याटिङ

नेदरल्यान्ड्सका ओपनर म्याक्स ओ डाउड अन्तिमसम्मै क्रिजमा टिकेर टोलीलाई खेल जिताए । ओपनिङ पार्टनर माइकल लेभिट सस्तैमा पेभेलियन फर्किएपछि उनले त्यसपछि विक्रमजित सिंह, साइब्रान्ड एङ्गलब्रेट र बास डे लिडेसँग मिलेर केही समय पार्टनरशिप बनाउँदै टिकेर खेले ।

ओ डाउडले १८औं ओभरसम्म कुनै पनि रिस्क नलिइकिन खेलेका थिए । १८औं ओभरको पहिलो बलमा उनले जीवनदान पनि पाए । त्यसपछि अर्को ओभरमा उनले चौका र छक्का प्रहार गर्दै प्रेसर रिलिज गरे र अर्धशतक पनि बनाउँदै टोलीलाई जीत दिलाए ।

प्रेसर ह्‍यान्डलिङ

खेलमा प्रेसर अर्थात् दबाबलाई कसरी ह्‍यान्डल गर्न सकिन्छ भन्‍ने कुराले पनि निकै अर्थ राख्छ । टस हारेपछि नेपालले ओभरकास्ट कन्डिशनमा पहिले ब्याटिङको निम्तो पायो । त्यसबेला नेपालले सुरुवाती ओभरहरुमा कसरी खेल चलाउने र दबाब सिर्जना हुन नदिने भनेर सोच्‍नुपर्ने जरुरी हुन्थ्यो ।

पहिलो इनिङपश्चा्त पूर्णरपमा नेपाल दबाबमा थियो किनभने १०६ रन रोक्नका निम्ति निकै चूनौति हुन्छ । नेपालले बलिङबाट केही दबाब सिर्जना भने अवश्य नै गर्‍यो तर नेदरल्यान्ड्सले दबाबलाई पूर्णरुपमा आफूमाथि हावी हुन दिएन र नेपालले पनि प्रेसर ह्यान्डल गर्दै खेलमा थप केही रन बनाएको अवस्थामा खेल अर्कै नतिजातर्फ जान सक्‍ने थप सम्भावना रहन्थ्यो ।

Photos: ICC/Getty

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय