ओमानलाई सुपर ओभरमा हराउँदै नामिबियाको विजयी सुरुवात

काठमाडौं, २१ जेठ । आइसिसी टी-२० क्रिकेट विश्वकप अन्तर्गत सोमबार भएको पहिलो खेलमा नामिबियाले जीत हासिल गरेको छ । समूह बी को खेलमा नामिबियाले ओमानलाई सुपर ओभरमा हराएको हो ।
सुपर ओभरमा नामिबियाले दिएको २२ रनको लक्ष्य पछ्याएको ओमानले जवाफमा १० रन मात्र बनाउन सक्यो । आकिब इलियासले अन्तिम बलमा छक्का प्रहार गर्नुबाहेक सुपर ओभरमा ओमानको ब्याटिङ चलेन । नामिबियाका लागि भने डेविड विजा र कप्तान जेरार्ड इरासमस मिलेर ३ चौका र एक छक्कासहित २१ रन जोडेका थिए ।
त्यसअघि ओमानले दिएको ११० रनको लक्ष्य पछ्याएको नामिबियाले पूरा २० ओभरमा ६ विकेट गुमाएर १०९ रन मात्र बनायो । अन्तिम ओभरमा ५ रन चाहिएको अवस्थामा ओमानका मेहरान खानले २ विकेट लिएर ४ रन मात्र दिए । नामिबियाका जान फ्रायलिन्कले सर्वाधिक ४५ रन बनाउँदा निको डाभिनले २४ रन बनाए ।
ओमानका मेहरान खानले घातक बलिङ गर्दै ३ ओभरमा ७ रन मात्र दिएर ३ विकेट लिएका थिए । त्यस्तै कप्तान आकिब इलियासले ४ ओभरमा १७ रन दिएर १ विकेट लिए । बिलाल खानले ४ ओभरमा २५ रन दिएर १ विकेट लिए । आयान खानले पनि एक विकेट हात पारे ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ओमानले १९.४ ओभरमा अलआउट हुँदै १०९ रन बनाएको थियो । ओमानका खालिद केलले सर्वाधिक ३४ रन बनाए । जिशान मकसुदले २२ रन बनाए ।
नामिबियाका रुबेन ट्रम्पलमेनले ४ ओभरमा २१ रन दिएर ४ विकेट लिए । डेविड विजाले ३.४ ओभरमा २८ रन दिएर ३ विकेट लिए । जेरार्ड इरासमसले २ र बर्नार्ड स्कोल्जले १ विकेट लिए ।

