पिएनजीविरुद्ध वेस्ट इन्डिजको संघर्षपूर्ण जीत

काठमाडौं, २१ जेठ । आइसिसी टी-२० क्रिकेट विश्वकप अन्तर्गत आइतबार भएको दोस्रो खेलमा वेस्ट इन्डिजले जीत हासिल गरेको छ । समूह सी को खेलमा वेस्ट इन्डिजले पपुवा न्यस गिनी (पिएनजी)लाई ५ विकेटले हराएको हो ।
पिएनजीले दिएको १३७ रनको मध्यम लक्ष्य वेस्ट इन्डिजले १९ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो । वेस्ट इन्डिजका लागि रस्टन चेजले सर्वाधिक अविजित ४२ रनको योगदान दिए । उनले २७ बल खेल्दा ४ चौका र २ छक्का प्रहार गरे । त्यस्तै ओपनर ब्रान्डन किंगले ३४ तथा निकोलस पूरनले २७ रन जोडे ।
पिएनजीका लागि कप्तान असाद भालाले २ तथा अलेइ नाओ, चाड सोपर र जोन कारिकोले समान १-१ विकेट लिए । वेस्ट इन्डिजले ओपनर जोनसन चार्ल्सलाई शून्यमै गुमाएको थियो भने अन्य ब्याटरलाई पनि पिएनजीका बलरले दबाबमा राखेका थिए । अलेइ नाओले आफ्नो पहिलो ओभर विकेट मेडन राखेका थिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पिएनजीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १३६ रन बनाएको थियो । पिएनजीका लागि सेसे बाउले ४३ बलमा ६ चौका र १ छक्का सहित सर्वाधिक ५० रन बनाए । त्यस्तै किप्लिन डोरिगाले २७ रनमा अविजित रहे ।
वेस्ट इन्डिजका लागि आन्द्रे रसेल र अल्जारी जोसेफले समान २-२ विकेट लिए भने अकिल होसेन, रोमारियो शेफेर्ड र गुडकेश मोटीले १-१ विकेट लिए ।
यसअघि आइतबार विहान भएको खेलमा अर्को आयोजक राष्ट्र अमेरिकाले पनि विजयी सुरुवात गरेको थियो ।
आजका खेलहरु:
नामिबिया विरुद्ध ओमान, विहान ६:१५ बजे
दक्षिण अफ्रिका विरुद्ध श्रीलंका, राति ८:१५ बजे

