आरोनको आक्रामक ब्याटिङमा अमेरिकाको विजयी सुरुवात

काठमाडौं, २० जेठ । आइसिसी टी-२० क्रिकेट विश्वकप आइतबारदेखि सुरु भएको छ । जुनको अन्तिमसम्म वेस्ट इन्डिज र अमेरिकामा संयुक्त रुपमा चल्ने प्रतियोगितामा अमेरिकाले विजयी सुरुवात गरेको छ ।
आइतबार भएको खेलमा अमेरिकाले क्यानडालाई ७ विकेटले हराएको हो । क्यानडाले दिएको १९५ रनको लक्ष्य अमेरिकाले १४ बल बाँकी छँदा केवल ३ विकेटको क्षतिमा भेट्टायो । अमेरिकाको जीतमा आरोन जोन्सले आक्रामक अर्धशतक प्रहार गरे भने आन्द्रियस गौसले पनि अर्धशतक बनाए । जोन्स ४० बलमा ९४ रनमा अविजित रहँदा र गौस ६५ रनमा आउट भए । यी दुईले तेस्रो विकेटका लागि १३१ रनको साझेदारी गरेका थिए ।
ओपनर स्टेभन टेलरलाई पहिलो बलमै गुमाएको अमेरिका कप्तान मोनान्क पटेल पनि १६ रनमा नै पेभेलियन फर्किएपछि केही दबाबमा आएको थियो । यद्यपि जोन्स र गौसले मिलेर इनिङ उकासे । क्यानडाका लागि कलिम साना, निखिल दत्त र डिलोन हेलिङ्गरले एक-एक विकेट हात पारे ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १९४ रन बनाएको थियो । क्यानडाका नवनित धलिवाल र निकोलस किर्टनले अर्धशतकीय पारी खेलेका थिए । धलिवाल ६१ र किर्टन ५१ रनमा आउट भए । त्यस्तै श्रेयस मोभा ३२ रनमा अविजित रहे ।
अमेरिकाका लागि हर्मीत सिंहले ४ ओभरमा २७ रन दिएर १ विकेट लिए । कोरे एन्डरसनले ३ ओभरमा २९ रन दिएर १ विकेट हात पारे भने अली खानले ४ ओभरमा ४१ रन दिएर १ विकेट लिए ।
प्रतियोगितामा अब आज बेलुका वेस्ट इन्डिज र पपुवा न्युगिनी खेल्ने छन् ।

