मनसुन जेठको अन्तिममा भित्रिने, त्यतिन्जेल गर्मी कायमै, हल्का वर्षाले केही राहत
औसतभन्दा धेरै पानी पर्ने, रातको समयमा बढी वर्षा हुन्छ: मौसमविद्
काठमाडौं, १९ जेठ । नेपालमा जेष्ठको अन्तिमतिर मनसुन प्रवेश गर्ने उच्च सम्भावना देखिएको छ । वरिष्ठ मौसमविद् उज्जवल उपाध्यायका अनुसार नेपालमा मनसुन भित्रिने औसत मिती जेठ २५ भएपनि पछिल्लो समय यो मिति खल्बलिनाले यसपालि जेठको २९ वा ३० गतेसम्ममा नेपालको झापा हुँदै मनसुन प्रवेश गर्ने छ ।
उपाध्यायका अनुसार मनसुन नेपाल भित्रिएको करिब सात दिनभित्र पुरै मुलुकभरी फैलिने छ । यद्यपि यसको अर्थ लगातार ७ दिन नै वर्षा हुने भन्ने चाहिँ हुँदैन । किनभने मनसुनी बादल प्रवेश गरेपछी पनि यसलाई सक्रिय हुन केही समय लाग्छ ।
मनसुन भित्रिनुअघिको समय अर्थात आगामी १० दिन अझै गर्मी नै हुनेछ । तर तराईमा पछिल्लो समय साँझको समयमा भइरहेको हल्का वर्षा र हावाहुरीले केही हदसम्म गर्मीबाट भने बढी राहत हुनेछ । काठमाडौं लगायत पहाडी जिल्लाहरुमा पनि दिउँसो गर्मी हुने तर बेलुकीको समयमा हुने वर्षाले केही राहत मिल्ने छ ।
यसपालिको मनसुनी वर्षा रातको समयमा विशेषगरी राति ९ देखि १२ बजेको बीचमा बढी हुने देखिएको छ । यसपालीको मनसुनी वर्षा औषतभन्दा ५ देखि १० प्रतिशत धेरै हुने देखिएको छ जसले गर्दा बाढी-पहिरोजस्ता विपदका घटना धेरै हुन सक्छन् ।
मौसमविद् उपाध्यायले भने, ‘एउटा रोचक कुरा के छ भने यसपालिको मनसुनको अवधिमा पनि सात दिनसम्मको खडेरी भने देखा पर्ने छ, तर औसतभन्दा बढी वर्षा हुनाले पानीको संकट भएका ठाउँँका बासिन्दा तथा कृषकसमुहलाई लाभ हुने छ’ ।
मनसुन भित्रिन अब धेरै दिन बाँकी नरहेकाले सरकारले विपद जोखिम न्युनिकरणका लागि आवश्यक तयारीहरु पूरा गरी बस्न मौसमविदहरुले सुझाव दिएका छन् । मनसुनी वर्षासँगै यस वर्ष तापक्रम पनि बढ्ने प्रक्षेपण गरिएको थियो, पछिल्लो समय देशको अधिकांश स्थानमा अधिकतम तापक्रम बढ्नाले जनजीवन प्रभावित बन्ने गरेको छ ।

