बुढानिलकण्ठका मेयर र तीन वडाध्यक्षलाई एक महिना कैद सजायको फैसला

काठमाडौं, १४ जेठ । जिल्ला अदालत काठमाडौंले बूढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीसहित तीन जना वडाध्यक्षलाई एक महिना कैदको फैसला सुनाएको छ ।
अदालतको अवहेलना मुद्दामा काठमाडौँ जिल्ला अदालतका न्यायाधीश डा. राजेन्द्र कुमार आचार्यको इजलासले मेयर अधिकारीसहित वडाध्यक्षहरू नवराज भट्टराई, सुमन तामाङ र चन्द्रमान श्रेष्ठलाई सजाय सुनाएको हो।
बूढानीलकण्ठ नगरपालिका वडा नं १० मा निर्माणाधीन नगर अस्पतालको टहरा व्यक्तिको जग्गामा बनाएको र सो टहरा हटाउन यसअघि दिएको आदेश उल्लंघन गरेको अदालतको ठहर छ।
विवादित क्षेत्रमा रहेका संरचना हरू हटाउनको लागि १०० दिनको समयसहित यसअघि जिल्ला अदालतबाट २०८०/१८ मा चलान दिएकोमा संरचना नहटाउने कार्यले अदालतको फैसला सम्मान नगरेको देखिन आएको अदालतको जिकिर छ।

