टी२० विश्वकपअघिको पहिलो वार्म अप खेलमा नेपाल र क्यानडा खेल्दै

काठमाडौं, १४ जेठ । आइसिसी टी-२० विश्वकप क्रिकेट सुरु हुन अब ४ दिन मात्र बाँकी छ । विश्वकपको तयारी स्वरुप वार्म अप खेलहरु आजदेखि हुँदै छन् । नेपालले पनि आफ्नो पहिलो वार्म अप खेल खेल्दै छ ।
नेपालले क्यानडासँग आज वार्म अप खेल खेल्न लागेको हो । खेल नेपाली समयअनुसार बेलुकी सवा ९ बजेदेखि सुरु हुने छ । क्यानडाले पहिलोपटक टी२० विश्वकप क्रिकेट खेल्दै छ ।
नेपाल र क्यानडा पछिल्लोपटक २०२२ को टी-२० विश्वकप ग्लोबल छनौटमा भेटेका थिए । त्यसबेला नेपालले क्यानडाको टोलीलाई ८० रनमा अलआउट गर्दै खेल जितेको थियो ।
विश्वकपमा सहभागी हुन गत महिना नै अमेरिका पुगेको नेपाली टोलीले त्यहाँबाट सेन्ट भिन्सेन्टमा विनवार्ड भोल्कानोजसँग तथा अमेरिका आएर डलासमा फेरि हुस्टन हरिकेन्ससँग अभ्यास खेलिसकेको छ ।
नेपालले टी२० विश्वकपको पहिलो खेलमा नेदरल्यान्ड्ससँग जुन ४ मा खेल्ने छ । त्यसपछि जुन ११ मा श्रीलंका, जुन १४ मा दक्षिण अफ्रिका र जुन १६ मा बंगलादेशसँग खेल्नेछ ।

