पोखराको विरौटास्थित एक घरबाट ७० लाख बराबरको चोरी
कास्की, १३ जेठ । पोखराको विरौटास्थि एक घरबाट ७० लाख रुपैयाँ बराबरको चोरी भएको छ । पोखरा महानगरपालिका-१७ विरौटा अन्नपूर्ण मार्ग बस्ने ६० वर्षीय लक्ष्मीकान्त शर्माको घरबाट सुनका गहनालगायत नगद पनि चोरी भएको हो ।
घरको ढोकाको ताला फुटाएर सुनका गरगहना ३४ तोला ५५ लाल र नगद ३ लाख ७५ हजार रुपैयाँ नगद चोरी भएको प्रहरीको भनाई छ । त्यस्तै सोही घरमा भाडामा बस्ने सूर्यदेवी पौडेलको सुनका गरगहना २ तोला ७० लाल तथा नगद ५ हजार रुपैयाँ र अन्जु क्षेत्रीको नगद १५ हजार तथा विभिन्न जिन्सी सामानहरू समेत गरी करिब ७० लाख ८२ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।
लक्ष्मीकान्त बुधबार पोखरा महानगरपालिका-२२ पाउदुरस्थित पुरानो घर गएकोमा शनिबार घर फर्की आई हेर्दा उक्त नगद तथा सुनका गरगहना चोरी भएको बताइएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।