विद्यार्थी नेता चापागाईं र शिक्षामन्त्री श्रेष्ठबीच उभिएरै वार्ता

काठमाडौ। प्रारम्भिक बालविकास शिक्षा (ईसीडी) सुधारको माग राख्दै १० दिनदेखि माइतीघर मण्डलामा उभिएका समाजवादी विद्यार्थी युनियनका अध्यक्ष नेत्र चापागाईं र शिक्षामन्त्री सुमना श्रेष्ठबीच उभिएर नै बार्ता भएको छ। यद्यपि शिक्षा मन्त्रालयमा भएको सो वार्ता निर्ष्कषविहीन बनेको छ ।

अध्यक्ष चापागाईंले शुक्रबारमात्रै मन्त्री श्रेष्ठलाई पत्राचार गर्दै आफ्ना मागहरुबारे ध्यानाकर्षण गराएका थिए । लगत्तै मन्त्री श्रेष्ठले वार्ताका लागि सिंहदरबार बोलाएकी थिइन् । माइतीघरमा उभिने समयमै सिंहदरबार पुगेका चापगाईंले मन्त्रीको कार्यकक्षमा भएको वार्ता समेत उभिएरै गरेका थिए ।

वार्तामा बोलाएपनि मन्त्री श्रेष्ठ मुद्दालाई सम्बोधन गर्न सकारात्मक नदेखिएको विद्यार्थीहरुको आरोप छ । चापागाईं १० दिनदेखि माइतीघरमा बिहान १० बजे देखि ५ बजेसम्म ईसीडी शिक्षा सुधारका लागि भन्दै उभिएर आन्दोलन गर्दै आएका छन् । ईसीडी शिक्षा सुधारका लागि सरकारी प्रतिबद्दता नआएसम्म दबाबमूलक रुपमा उभिने उनले बताउँदै आएका छन् । १० दिन देखि लगातर ८ घण्टाको दरले घाममा उभिँदा उनको खुट्टा सुनिने लगायत स्वास्थ्य समस्या देखिन थालेको छ ।

शिक्षामन्त्रीले वार्तामा बोलाएर अलमल्याउन मात्रै खोजेको र मुद्दामा धेरै सकारात्मक नरहेको पाइएको विद्यार्थीको बुझाइ छ।चापागाईंले उभिन थालेको ५ औं दिन शिक्षामन्त्री भेट्न माइतीघर पुगेपनि त्यसपछि मागमा बेवास्ता गरेको चापागाईंले लेखेको पत्रमा पनि उल्लेख छ । चापागाईंले सरकारसामु ६ बुदें माग समेत अघि सारेका छन् । ईसीडीका बालबालिकालाई दिने दिवा खाजाको रकमवृद्धि गर्नुपर्ने, ईसीडी शिक्षकको शैक्षिक योग्यता र मासिक पारिश्रमिक वृद्धि गर्नुपर्ने, सामुदायिक र निजी विद्यालयमा सञ्चालित ईसीडी कक्षामा एकरुपता कायम गर्नुपर्ने, ईसीडी शिक्षकको दरबन्दी कायम गरिनुपर्ने लगायतका माग अघि सारिएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय