हुस्टन हरिकेन्ससँग नेपालको रोमाञ्चक जीत
काठमाडौं, १२ जेठ । आइसिसी टी२० विश्वकप क्रिकेट अघि तयारीमा रहेको नेपाली क्रिकेट टोलीले हुस्टन हरिकेन्ससँगको पहिलो अभ्यास खेलमा रोमाञ्चक जीत निकालेको छ । डलासमा भएको खेलमा नेपाल ६ रनले विजयी भएको हो ।

नेपालले दिएको १४७ रनको लक्ष्य पछ्याएको हुस्टनले पुरा २० ओभर खेलेर ८ विकेटको क्षतिमा १४० रन मात्र बनाउन सक्यो । अन्तिम ओभरमा १० रन चाहिएको अवस्थामा करण केसीले ३ रन मात्र खर्चेर १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४६ रन बनाएको थियो । नेपालका लागि अनिल शाहले सर्वाधिक ४७ रन बनाएका थिए ।