सोझो राईलाई अध्यक्ष बनाएर रवि लामिछानेले सहकारी ठगेको बानियाँको आरोप
काठमाडौं, ११ जेठ । पुर्व गृहराज्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँले रवि लामिछानेले सोझो राईलाई अध्यक्ष बनाएर सहकारीको रकम अपचलन गरेको आरोप लगाएका छन् ।
तत्कालीन समयमा ग्यालेक्सी फोके नामको टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेले सोझो राई (जीवी राई)लाई गोरखा मिडिया नेटवर्क प्रा.लि.को अध्यक्ष बनाएर करोडौं रुपियाँ अपचलन र ठगी गरेको उनको आरोप छ।
मकवानपुरको थाहा नगरपालिका-७, आग्रा बाहुनचौरस्थित श्री चन्द्रसूर्य सामुदायिक संस्था नेपालको निर्माणाधीन भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै बानियाँले सिधासादा जीवी राईलाई अध्यक्ष बनाएर रवि लामिछाने आफू टेलिभिजनको प्रबन्ध निर्देशक बनेर सहकारीका हजारौँ बचतकर्ताको रकम अपचलन र ठगी गरेको आरोप लगाए ।
कांग्रेसले सहकारीको करोडौं रकम अपचलन र ठगी भएको विषयमा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग नगरेको भन्दै उनले सहकारीको रकम अपचलन भएको विषयमा लामिछानेमाथि अनुसन्धान र छानविन गर्न संसदीय समितिको माग मात्रै गरिएको प्रष्ट पारे।
उनले भने, ‘आज रवि लामिछानेलाई हजारौँ सहकारीका बचतकर्ताको कुरा आएको छ । एउटा टिभीमा लगानी गर्नलाई सोझो राईको बच्चालाई अध्यक्ष बनाएर आफैं प्रोग्राम चलाउने, ग्यालेक्सी फोरके टिभी भनेर खोल्ने, त्यसको एमडी आफू हुने, भएभरको सबैतिरको सहकारीको पैसा तानेर ऋण लिने, ऋण लिएर टिभी चलाउने, अनि त्यो टिभीको कार्यकारी निर्देशक भएर अहिले आएर मेरो केही जिम्मेवारी छैन भन्ने ?’
उनले अगाडी थपे-,’राजीनामा दिनु परेन, तर संसदीय छानविन समिति त बन्नु पर्यो नि ! भनेर कांग्रेसले आवाज उठाइरहँदा जोरजबरजस्ती गरेर दम्भ देखाएर हिंड्न मिल्छ?’
सभापति बानियाँले यतिबेला गृहमन्त्रीले जे कार्य देखाइरहेका छन् त्यो लोकतान्त्रिक चरित्र नभएको आरोप पनि लगाए। उनले कम्युनिस्टको चरित्र नै जनताको दु:ख नबुझ्ने तर,जनतालाई झुठो आश्वासन दिएर झुलाइराख्ने भएको पनि बताए।