जब १३ बर्षे नाबालक हत्याको सहयोगी बने…

काठमाडौं, ६ जेठ । जिल्ला प्रहरी परिसर काठमाडौंलाई आफ्नै संगठन भित्रका ट्राफिक प्रहरीको ‘हत्या’ को अनुसन्धान र हत्यारा सम्म पुग्नुथियो। ड्युटी सकेर कोठा जादै गरेका ३२ बर्षिय प्रहरी जवान युवराज घिमिरेको तारकेश्वर नगरपालिका-९ मनमैजुमा शुक्रबार दिउँसो शव भेटिएको थियो।

ट्राफिक जवानको शव फेला पर्ने बित्तिकै काठमाडौं प्रहरीले अनुसन्धान सुरु गरेको थियो । अनुसन्धान सुरु गरेको ४८ घन्टाभित्रै प्रहरीले ट्राफिक जवानको हत्यामा संलग्न ७ जनालाई पक्राउ गर्‍यो। त्यसको केही घन्टा सम्म पुनः प्रहरीले गहिराई बुझ्न समय खर्च्यो र आइतबार मात्रै हत्यारा सार्वजनिक गर्‍यो। तर,हत्याको कारण सुन्दा अचम्म लाग्दो छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँले हत्यामा संलग्न रहेको आरोपमा शनिबार नै काठमाडौँका विभिन्न स्थानबाट ती ७ जनालाई पक्राउ गरेकोमा एक जना १३ बर्षिय नाबालक पनि थिए।सिसिटिभी फुटेजको माध्यमबाट ती १३ बर्षिय नाबालक सबैभन्दा पहिले पक्राउ परेका थिए।

हत्या आरोपमा पक्राउ पर्ने अन्यमा भक्तपुर चाँगुनारायण-१ का २१ वर्षीय आइते भन्ने सचिन परियार, नुवाकोट दुप्चेश्वर गाउँपालिका घर भएका १८ वर्षीय अञ्जली श्रेष्ठ, स्याङ्जा आँधिखोला गाउँपालिका-३ की २१ वर्षीया बिपना र बसन्ती भनिने बसुन्धारा कार्की, उनकी आमा ५६ वर्षीया नुनमाया कार्की, नुवाकोट तादी गाउँपालिका, ओखरे घर भएका २१ वर्षीय बुद्ध लामा तामाङ, सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका-१ का ३० वर्षीय अमृत तामाङ छन्।उनीहरू यसअघि पनि विभिन्न अपराधमा संलग्न रहेको प्रहरीले जनाएको छ।

यो घटनाको अनुसन्धान गर्दै जादा तिनै नाबालकबाट थप नयाँ कुरा पत्ता लाग्यो । उदयपुर घर भै काठमाडौ बस्ने ती १३ बर्षिय नाबालकलाई प्रहरीले सिसिटिभी फुटेजको आधारमा सबैभन्दा पहिले पक्राउ गर्नु नै ठूलो सफलता हातलाग्ने प्रमाण भैदियो।ट्राफिक प्रहरी जवान घिमिरे दरबारमार्ग बृत्तमा कार्यरत रहेको र बिहीबार राति ८:३० बजे उनी ड्यूटी सकेर प्रहरी पोशाकमै फर्किएका थिए। उनी ९ बजे पछि काठमाडौँको तारकेश्वर नगरपालिका-९ मनमैजुको एउटा खाजा घरमा पुगे। जुन उनको बसाइ नजिकै थियो।

त्यहाँ घिमिरेले पहिलेदेखि नै चिनेका साथी जस्तै सचिन परियार र अन्जली श्रेष्ठ पनि खाना खान गएको देखिन्छ।तर,घिमिरे पुग्दा उनीहरू छ्याङ पिइरहेका थिए। उनीहरुले घिमिरेलाई पनि छ्याङ पिउन कर गरे। होटलवाला सचिन परियारका चिनजानकै मानिस भएको खुलेको छ। सचिन बसपार्क तिर भारी बोक्ने काम गर्दा नै तिनीहरु बीच चिनजान भएको देखिन्छ।

पहिल्यैदेखि चिनजानका साथी जस्तै भएकोले सचिनसँग बसेर प्रहरी जवान घिमिरेले पनि छ्याङ र चुरोट खाएको देखिन्छ। त्यसपछि सचिनले घिमिरेलाई कोठा पुर्‍याईदिन आग्रह गरे, तर घिमिरेले मानेनन्। उनी पनि छ्याङले मातेको अवस्थामा बाइक स्टार्ट गर्न लागे। त्यसपछि त्यै मोटर साइकलमा अन्जली र सचिन पनि बसे। तिनै जना बाटो लागे। मनमैजुको बासुकी नागटोल पुगेपछि प्रहरी जवान घिमिरेलाई सचिनले एक्कासी हेलमेटले प्रहार गरे। हेल्मेटले हानेपछि घिमिरे रन्थनिए। त्यै बेला नजिकै रहेका अरू साथीलाई पनि सचिनले बोलाए। त्यसपछि  ७ जना जम्मा भएर पालैपालो ढुंगा र इट्टाले प्रहार गरेर प्रहरी जवानको हत्या गरे।

काठमाडौँ प्रहरी परिसरका प्रमुख एसएसपी वशन्त रजौरेका अनुसार हत्यापछि प्रहरी जवान युवराज घिमिरेका सबै कपडा खोलेर नजिकै आगो बालेर जलाइदिए। युवराजको शव पनि अर्को ठाउँमा लगेर छोपिदिए। त्यसपछि ७ जना नै बाटो लागे र जरंखुमा पुगेर एउटा घरको बार्दलीमा सुते। भोलिपल्ट सचिनबाहेक अरू ६ जना त्यै बाटो फर्किएको सीसीटीभी फुटेजमा देखिन्छ।

अनि प्रहरीले शनिबार ती १३ वर्षीय बालकलाई फेला पार्छ। प्रहरी देखेपछि ती बालक आत्तिन्छन्। प्रहरीले उनलाई फकाउँदै घटनाको बारेमा सोधिखोजी गरेपछि बालकले नै घटना कसरी भयो र को को थिए भन्ने सबै बेलिबिस्तार लगाउँछ। त्यसपछि प्रहरीले तिनै १३ वर्षीय बालकलाई लिएर शनिबार दिनभर अन्यको खोजिमा लाग्छ।दिनभर उनीहरुको कुनै अत्तोपत्तो नभएपनि  साँझ ७ बजेतिर बुद्ध लामा, दोर्जे भन्ने अमृत तामाङ र अन्जलीसहित अहिले घटनामा संलग्नता नदेखिएका अन्य केही पात्रलाई प्रहरीले पक्राउ गर्छ।तर,पक्राउ गर्नेबेलामा पनि उनीहरूलाई हवाई फायर गर्नुपरेको थियो। हुन त प्रहरीले यो घटनाको अनुसन्धान गर्ने क्रममा सुरुमा १६ जनालाई पक्राउ गरेको र ७ जनाको मात्रै पहिचान खुलाइएको छ। अझै हत्याका मुख्य आरोपी सचिनलाई प्रहरीले आइतबार बिहान ३ बजेतिर मात्रै पक्राउ गरेको थियो। मुख्य नाइके भएकोले प्रहरी जवान घिमिरेको साथमा भएको नगद समेत सचिनले लुटेका थिए।

घटनाको प्रकृति र उनीहरुको प्रारम्भिक बयानले घटना लुटपाटकै लागि मात्रै भएको हो कि जस्तो लागेपनी अनुसन्धान जारी रहेकाले छिट्टै नयाँ कुरा पत्ता लाग्ने प्रहरीले जनाएको छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय