प्रचण्डले रविको जिम्मा नलिने !
काठमाडौं, १० जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रतिशोध साँध्ने हिसाबले गरेका कतिपय निर्णयमा जिम्मा नलिने भएका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डलाई पार्टी भित्रको एउटा समुहले रविलाई बोक्दा आफ्नै पार्टी जनताको नजरबाट खस्केको समेत भनेका छन् ।त्यसैले पनि प्रचण्डले अब रविको सबै कामको जिम्मेवारी नलिने भएका हुन् । पछिल्लो समय गृहमन्त्री लामिछानेले आफुखुशी अनावश्यक काममा हात हालेर सरकारलाई नै अफ्ट्यारो बनाएको माओवादीको बुझाइ छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति लामिछानेले आफूलाई सहकारी काण्डमा मुछेर समाचार लेखेको प्रतिशोध लिन कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेको समेत आरोप खेपिरहेका छन् ।नागरिकता सम्बन्धि बिषयमा सिरोहिया हाल धनुषा प्रहरीको हिरासतमा छन् ।
यसैगरी गृहमन्त्री लामिछानेको सहकारी ठगीमा नाम जोडिएको भन्दै नेपाली कांग्रेसले सदन अवरुद्ध गर्दै आएको छ। कांग्रेसले १३ जेठदेखि सडक संघर्ष समेत गर्ने भन्दै आन्दोलनको कार्यक्रम समेत तय गरेको छ। यो बिषयमा पनि माओवादी भित्रका केही नेताले गृहमन्त्री लामिछानेले राजिनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने भन्दै आएका छन् ।
उता कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाको गिरफ्तारी बारे गृहमन्त्रीको सर्बत्र आलोचना सुरु भएको छ। आफू अनुकुल समाचार नलेखेको भन्दै सिरोहियासंग बदला लिन लागेको भन्दै नेपाल पत्रकार महासङ,नेपाल बार एशोसिएसन,विभिन्न राजनीतिक दल तथा मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यले समेत आलोचना गरेका छन् ।