गौशाला चोकका घरमा महानगरको डोजर !

काठमाडौं । काठमाडौं महानगरपालिकाले पटकपटकको जानकारी अटेर गरेको भन्दै गौशाला चोकमा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरमा डोजर चलाएर केही घर भत्काएको छ ।
महानगरले भत्काउन आग्रह गर्दा ३५ दिने सूचना चाहिन्छ भन्दै उफ्रिने केही पसल र होटलमा बल प्रयोग गरी डोजर लगाएको हो।आइतबार प्रहरीको समेत सहयोग लिएर गौशाला चोक आसपासमा सडक किनारमा मापदण्डविपरीत अतिक्रमण गरी बनाइएका घर तथा पसलहरूमा डोजर चलाइएको हो।केही व्यवसायीले महानगरको यो कार्यलाई बलजफ्ती समेत भनेका छन् ।

यस अघि पनि महानगर भित्रका थुप्रै ठाउँमा डोजर चलाएको महानगरले मापदण्डविपरीत बनाइएको घर टहरामा नियमित रूपमा भत्काउँदै जाने जनाएको छ । महानगरपालिकाले गौशाला चोकमा १५ दिनदेखि माइकिङ गरेर पनि घर भत्काउन भनेको थियो । तर, घर धनीले आफैँ नभत्काएपछि डोजर चलाएको महानगरको भनाइ छ। यद्यपि घरधनी भन्दा पनि बहालमा बस्ने व्यवसायीले अटेर गरेको भन्दै महानगरले आइतबार आफैं भत्काएको हो।
महानगरले चाबहिलस्थिल भत्केको पुल आसपासमा बनेको अवैध संरचनाहरू पनि शुक्रवार डोजर प्रयोग गरि भत्काएको थियो । यसपछि चाबहिल,बौद्ध र गौरीघाट आसपास क्षेत्रमा पनि डोजर चल्नसक्ने महानगर स्रोतको भनाइ छ।

