चितवनको देवनगर सबस्टेसन शनिबारदेखि सञ्चालनमा

चितवन, ५ जेठ । चितवनको देवनगर सबस्टेशन आजदेखि सञ्चालनमा आएको छ । चितवनको भरतपुर महानगरपालिका–६ देवनगरमा निर्माण गरिएको ३३/११ केभी क्षमताको सबस्टेसन तथा गोन्द्राङ–देवनगर ३३ केभी प्रसारण लाइन उद्घाटन गरिएको हो ।
भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शनिबार संयुक्त रुपमा सबस्टेसन तथा प्रसारण लाइनको उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा प्रमुख दाहालले विद्युत् आपूर्तिमा रहेको न्यू भोल्टेजका कारण उद्योग व्यवसाय नचलेको, पङ्खा नचलेको भन्ने उपभोक्ताबाट आउने गुनासो देवनगर सबस्टेसन सञ्चालनमा आएपछि सम्बोधन हुने बताइन् ।
चितवन राष्ट्रिय निकुञ्ज, स्थानीय बासिन्दालगायतको साथ र सहयोगले लाइन तथा सबस्टेसन निर्माण भएको उल्लेख गर्दै प्रमुख दाहालले स्थानीयको मागबमोजिम केही क्षेत्रमा नाङ्गो तार बदलेर कालो तार राख्ने र तारलाई भूमिगत गर्ने कार्य गर्न आग्रह गरिन् । महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले सबस्टेसन सञ्लनमा आएसँगै महानगरपालिकाको पश्चिमी भेगको विकासका लागि कोशेढुङ्गा साबित हुने बताए ।
चितवनका प्रमुख जिल्ला अधिकारी भुपेन्द्रजङ्ग थापाले सबस्टेसन निर्माणबाट त्यस क्षेत्रबाट आउने विद्युत् आपूर्तिको गुनासो सम्बोधन र उद्योग कलकारखाना स्थापनाका लागि आधार तयार भएको बताए । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले आगामी ५० वर्षमा महानगरपालिकामा हुने विद्युत् मागमा प्रक्षेपण गरी २४ सै घण्टा विश्वसनीय, गुणस्तरीय र पर्याप्त विद्युत आपूर्तिका लागि काम अगाडि बढाइसकेको बताए । महानगर क्षेत्रमा भइरहेको तिव्र सहरीकरणका कारण बढिरहेको विद्युत् मागलाई सम्बोधन गर्न ३३ केभीको रिङमार्फत १२३ केभी सबस्टेसनमा जोड्ने गरी काम भइरहेको उनले बताए ।
देवनगर सबस्टेसनबाट महानगरपालिकाका वडा नं ५, ६, ८, ९, १३, १४, १५, २२ र २३ मा विद्युत् आपूर्ति दिइएको छ । सबस्टेसनमा २४ एमभिए क्षमताको पावर ट्रान्सफर्मर राखिएको छ । त्यसबाट करिब २२ मेगावाट विद्युत् आपूर्ति गर्न सकिने छ ।

