काठमाडौंमा ट्राफिक प्रहरी जवान मृत भेटिए

काठमाडौं, ५ जेठ । काठमाडौंको मनमैजुमा एक ट्राफिक प्रहरी जवान मृत फेला परेका छन् । ट्राफिक प्रहरी प्रभाग दरबारमार्गमा कार्यरत जवान युवराज घिमिरेको शव मनमैजुको निर्माणाधीन घरको भुँइतलामा शंकास्पद अवस्थामा फेला परेको हो ।
खोटाङ स्थायी घर भई सामाखुसीमा बस्दै आएका घिमिरे बिहीबारको ड्यूटी सकेर निस्किएका थिए । उनी त्यसपछि शुक्रबार कार्यालयमा अनुपस्थित भएपछि सम्पर्क गर्न खोज्दा सम्पर्कमा पनि आएनन् । शुक्रबार अपरान्ह उक्त शव फेला परेपछि मृत व्यक्ति घिमिरे रहेको खुलेको हो ।
घटनाबारे जानकारी पाएपछि उपत्यका अपराध अनुसन्धानको टोली तथा केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीको टोली परिचालन गरिएको थियो । तालिम प्राप्त कुकुरलाई पनि घटनास्थलमा लगिएको छ ।
सामाखुसीमा बस्ने उनी मनमैजु पुगेको कुरा नै प्रारम्भिक अनुसन्धानको विषय रहने एक प्रहरीले जनाएका छन् । अन्य लिड अनुसन्धानपछि मात्र थाहा हुने उनले जनाए ।

