संसदमै हुन थाल्यो उथलपुथल !

काठमाडौं, ४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू बाँचुन्जेल नेपालको राजनीतिमा उथलपुथल हुने भनिरहेका बेला त्यो उथलपुथलको संकेत संसद भित्रै देखिन थालेको छ।
उपेन्द्र यादव नेतृत्वको जसपा,नेपाल फुटाएको आरोप खेपिरहेका प्रधानमन्त्रीले पुनः माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) फुटाउन अध्यादेश ल्याउन लागेको हल्ला बाहिर आएको छ। यद्यपि प्रधानमन्त्रीले जसपा फुटाएको आरोप र अध्यादेश ल्याउन लागेको कुरामा ‘होइन’ भनिरहेका छन् ।
यही बिचमा संसदको बजेट अधिवेशन चल्न सकेको छैन। राष्ट्रपतिलाई नीति तथा कार्यक्रमको सम्बोधन गर्न दिएको नेपाली कांग्रेसले त्यसपछि सदन अवरुद्ध गरिरहेको छ। सदन नचलेपछी निति तथा कार्यक्रम माथी छलफल हुन सकेको छैन । नीति तथा कार्यक्रम पारित नगरी बजेट ल्याउन समेत अफ्ट्यारो छ। जेठ १५ मा बजेट सार्वजनिक गर्ने परम्परा छ।
खासगरी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछाने माथी लागेको सहकारी ठगीको आरोपमा कांग्रेसले संसदिय छानबिन समिति बनाउन माग गरेको छ।तर,सत्ता पक्षले त्यो अस्विकार गर्दै सदनमा लड्नै परेपनी लड्छौ भनिरहेको छ। सत्ता पक्षले भनेजस्तै बिहिवारको बैठकमा नै धकेलाधकेल गर्दै त्यसको कास्टिङ सुरु भैसकेको छ। बिहिवार सभामुखले समेत गल्ती गरेको कांग्रेसको आरोप छ। तर सत्ता पक्षले कांग्रेस बढी आक्रमक बनेको र दम्भ देखाएको भनेको छ। यहि कारण अब झन संसदिय छानबिन समिति नबन्ने सत्ता पक्षको जिकिर छ।
सदनमा कांग्रेसको व्यवहार देखेर नेकपा एमाले र रास्वपा चिढिएका छन् । उनीहरुले अब कांग्रेसका विरुद्ध झन् कसिलो मोर्चा बनाउने भएका छन् । रास्वपा नेताहरुले अब छानबिन समिति बन्ने वा गृहमन्त्रीले राजीनामा दिने दुवै नहुने भनेका छन् । उनीहरुले उस्तै परे सरकारबाट मात्रै होइन सांसदबाट पनि राजिनामा दिएर जनतामा जान सकिने धम्की दिन थालेका छन् । ‘म छातीमा हात राखेर हामी सबै सांसदहरू भन्न सक्छौँ, मेरो सभापतिको सबै छानबिन गर, तयार छौँ, समस्या देखिए उहाँ एक्लैले राजनीति छाड्छौँ भन्नुभएको छ, हामी सबैले राजनीति छाड्छौँ’, रास्वपा सह-प्रवक्ता एवं सांसद मनिष झा भन्छन्- ‘के नेपाली कांग्रेसका सबै सांसदले यो हिम्मत राख्न सक्छ ? सक्छ भने आउनुस च्यालेन्ज भयो ।’
उता कांग्रेस महामन्त्री गगन थापाले पनि कांग्रेसलाई पेलेर जाने सपना नदेख्न प्रधानमन्त्री सहित सत्ता पक्षलाई चुनौती दिएका छन् । उनले सदनमा कांग्रेस अझै आक्रामक भएर जाने र संसदिय छानबिन समिति नबनेसम्म सदन चल्न नदिने बताए । ‘प्रधानमन्त्रीले गर्न खोजेको के हो ?’ उनले प्रश्न गरेका छन्- ‘पेलेर जान खोजेको हो भने हामी पेलिन तयार छैनौं, कांग्रेसलाई कमजोर ठान्ने गल्ती नगरियोस् ।’

