प्रचण्डको सम्भावित उथलपुथल, रवि हटाएर गृहमा नारायणकाजी !

काठमाडौं, ३ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारमा छिट्टै अर्को उथलपुथल ल्याउने संकेत गरेका छन् । सम्भवत: यसपटक उनको उथलपुथलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई प्रभावित बनाउने छ।
प्रधानमन्त्रीले उपप्रधानमन्त्री समेत रहेका गृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेलाई गृहमन्त्रीबाट राजिनामा दिन सुझाएका छन् । त्यसको बदलामा परराष्ट्र मन्त्रालयमा स्वर्णिम वाग्लेलाई जिम्मेवारी दिन समेत प्रचण्डले भनेका छन् । हिजो भएको प्रधानमन्त्री प्रचण्ड सहित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र रास्वपा सभापति लामिछाने बिचको भेटमा समेत यो विषय उठेको स्रोतको भनाइ छ।
सहकारी ठगीको विषयमा धेरै कुरा उठेपछि पार्टी भित्रबाट समेत रविलाई अफ्ट्यारो पर्दै गएको बुझिएको छ। पार्टीका नेताहरूले पनि राजिनामा दिएर छानबिनमा सघाउन सुझाव दिएका छन् । सभापतिकै कारण सदनमा कांग्रेसको अवरोध र जनतामा समेत शंका उब्जिएको भन्दै रास्वपाका केही नेताले सभापति लामिछानेलाई राजीनामा दिन भनिरहेका छन् । पार्टी भित्रैबाट चर्को दबाब आउन थालेपछि र प्रधानमन्त्रीले समेत ‘अफ्ट्यारो पर्यो’ भनेका कारण दिने गृहमन्त्रीबाट राजीनामा दिन लामिछाने सकारात्मक रहेको बुझिएको छ।
तर,आफुले राजिनामा दिएपनी गृहमन्त्री भने पार्टी भित्रैबाट हुनुपर्ने रविको अडान छ। उनले हाल श्रम मन्त्री रहेका उपसभापति डिपि अर्याल र खेलकुद मन्त्री रहेका नेता विराजभक्त श्रेष्ठ मध्य एकलाई गृहमन्त्री बनाउनुपर्ने भनेका छन् ।तर,प्रधानमन्त्री प्रचण्डले भने गृहमन्त्री नलिन सुझाव दिएका छन् । त्यसको सट्टामा परराष्ट्र मन्त्रालय लिएर गृहमा नारायणकाजी श्रेष्ठलाई नै फिर्ता ल्याउने प्रचण्डको तयारी छ। यसो भएमा परराष्ट्र मन्त्रालयमा स्वर्णिम वाग्लेलाई जिम्मेवारी दिन सकिने एमाले-माओवादीको राय छ। यद्यपि सभापति लामिछानेले भने स्वर्णिमलाई तत्काल मन्त्री नबनाउने भनेका छन् ।स्रोतका अनुसार उनले स्वर्णिमलाई पुर्ण बिस्वास गरेका छैनन् ।
सहकारी ठगी प्रकरणमा नाम मुछिएको र कांग्रेसको सदन अवरोध अनि सडक संघर्ष उत्कर्षमा पुगेपछि गृहमन्त्री लामिछाने अफ्ट्यारोमा छन् । यो अफ्ट्यारोमा पार्टीभित्रैबाट पनि केही नेताले सहयोग नगरेको र नबोलेको रविको बुझाइ छ। खासगरी स्वर्णिम वाग्ले,डा.तोशिमा कार्की,हरि ढकाल लगायतले यो बिषय सभापतिको निजि कुरा भएकोले उनले नै मिलाउनुपर्छ भनिरहेका छन् ।
केही दिन अघि लामिछानेले आफ्नो कोर-टिमसँग प्रधानमन्त्री प्रचण्डले समेत राजिनामा दिएर मार्गप्रशस्त गरिदिए हुन्थ्यो भन्दै दबाब दिएको कुरा बताएका थिए। त्यसपछि उनले गृहमन्त्रालय छाड्न नहुने निश्कर्षसहित आफ्नो ठाउँमा कसलाई पठाउने भन्नेबारे पनि छलफल गरेको बुझिएको छ।सभापति लामिछानेले गृहमा विराजभक्त श्रेष्ठलाई अघि बढाउन चाहेको तर बिराजले नमानेको समेत बुझिएको छ।
त्यसपछि सभापति लामिछानेले आफ्नो विश्वासपात्र र कोरटिमको सदस्य समेत रहेका उपसभापति डिपी अर्याललाई गृहमन्त्रालयको नेतृत्व सुम्पिने बिषयमा कुरा चलाएका थिए।हाल सरकारमा श्रम मन्त्रालयको जिम्मेवारीमा रहेका अर्यालले भने गृहमन्त्रालयको जिम्मेवारी लिनको लागि आफू तयार रहेको संकेत गरेका थिए।
तर,प्रधानमन्त्री प्रचण्डले भने गृहमन्त्रालय नै नलिन सुझाव दिएको र परराष्ट्र मन्त्रालय लिन भनिरहेका छन् । जसले गर्दा गृहमन्त्रीमा नारायणकाजीलाई ल्याउन सजिलो पर्नेछ। यसो भएमा सदन अवरुद्ध गर्ने कांग्रेसलाई पनि ब्याक हुन सजिलो पर्ने र भविस्यमा कांग्रेस-माओवादी सम्बन्ध पनि सुमधुर बन्ने प्रचण्डको बिश्वास छ। यदि रातारात कुनै चमत्कार नभए आजको सदनमा हुने गतिविधिलाई हेरेर गृहमन्त्रीले राजिनामा दिन सक्नेछन् ।

