कान्स फिल्म फेस्टिभलमा सहभागी हुन बालेन फ्रान्स प्रस्थान

काठमाडौं, १ जेठ । काठमाडौं महानगरपालिकाकाका मेयर बालेन शाह कान्स फिल्म फेस्टिभलको ७७औँ शृंखलामा भाग लिन फ्रान्स प्रस्थान गरेका छन् । फ्रेन्च सहर कान्सका मेयर डेभिड लिसनार्डको निम्तोमा उनी मंगलबार विहान २:१५ बजेको विमानबाट फ्रान्सका लागि प्रस्थान गरेका हुन्।

बालेनका साथमा उनका व्यवस्थापन सल्लाहकार कुमार व्यञ्जनकार र पूर्वाधार सल्लाहकार सुनील लम्साल छन् । उनीहरूलाई महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार र प्रशासन विभागका प्रमुख दीपक अधिकारीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको विशिष्ट कक्षबाट बिदाइ गरेका थिए।

कान्स र काठमाडौँ दुवै युनेस्कोको ‘क्रिएटिभ सिटी’को चलचित्र विधाका सदस्य नगर हुन् । कान्सका मेयरले प्रमुख शाहलाई पठाएको निमन्त्रणा पत्रमा भनिएको छ, ‘फेस्टिभल क्रिएटिभ सहरलाई एक ठाउँमा ल्याउने अवसर हो। फेस्टिभलमा अन–एयर शीर्षकमा सञ्चालन हुने अडियो भिजुअल कन्टेन्ट चेनबारे जान्न सजिलो हुनेछ।’

बालेनले फेस्टिभलको रेडकार्पेट र प्रिमियर कार्यक्रममा सहभागी हुनेछन् भने विशिष्ट व्यक्तिहरुसँग भेटवार्ता पनि हुने छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय