माधव नेपाल र रवि लामिछानेका उम्मेदवार सहित १६ जनाको धरौटी जफत
काठमाडौं, १८ वैशाख । गत वैशाख १५ मा भएको इलाम निर्वाचन क्षेत्र नम्बर-२ को अन्तिम मतपरिणाम पनि सार्वजनिक भइसकेको छ ।

निर्वाचन कार्यालयले सार्वजनिक गरेको तथ्यांकलाई हेर्दा यहाँ प्रतिस्पर्धा गरेका १९ उम्मेदवार मध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मिलन लिम्बू सहित १६ उम्मेदवारले जमानत (धरौटी) जोगाउन सकेनन् । लिम्बुले जम्मा ५ हजार ५० मत मात्रै ल्याए।

प्रतिनिधि सभा सदस्य ऐनअनुसार जम्मा सदर मतको १० प्रतिशतभन्दा कम मत पाउने उम्मेदवारको धरौटी जफत हुने कानूनी व्यवस्था छ । यहाँ नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले २७ हजार ७ सय ७२ मत ल्याएर बिजयी हुँदा नेपाली कांग्रेसका डम्बर खड्काले २१ हजार ९ सय ४२ र स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ११ हजार ४ सय ५७ हजार मत ल्याए। विजयी भएका सुहाङ बाहेक डम्बर र डकेन्द्रको मात्रै धरौटी जोगियो।
धरौटी जफत हुनेमा रास्वपा सहित नेकपा एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी, मंगोल नेशनल अर्गनाइजेसन पार्टी, जनमत पार्टी, राप्रपा नेपाल लगायत ९ वटा दल छन् । यसैगरी स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिम बाहेक अन्य ६ जना स्वतन्त्र उम्मेदवारको पनि धरौटी जफत भएको छ।
इलाम-२ मा कूल १ लाख १५ हजार ८८९ मतदाता रहेकोमा ६९ हजार २ सय ८७ मतदाताले मात्रै मतदान गरेका थिए। जसमध्ये ३५ हजार १ सय २५ जना पुरुष र ३४ हजार १ सय ५० जना महिला र अन्य २ जनाले मतदान गरेका थिए ।
यहाँ ६९ हजार ३७४ मत खसेको थियो । जसमध्ये ९०२ मत बदर भयो । बाँकी रहेको ६८ हजार ४७२ मत गणना भएको आयोगले जानकारी दिएको छ ।