रेशम-रञ्जिता नाटकीय मिलन : ‘पार्टी र सरकार दुवै जिम्मा रन्जितालाई’

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) भित्रको विवाद ‘श्रीमान-श्रीमती झगडा,परालको आगो’ भने जस्तै भएको छ।
पार्टीको नेतृत्व र सरकारमा सहभागी हुने विषयलाई लिएर श्रीमान(रेशम चौधरी) र श्रीमती (रञ्जिता श्रेष्ठ)बीचको तिक्ततामा आकस्मिक सुधार आएको बुझिएको छ । उनीहरुबीचको विवाद पछिल्लो समय ‘डिभोर्स’ र आत्महत्या जस्ता हल्लाको उत्कर्षमा पुगिसेको थियो ।
पार्टीको पहिलो महाधिवेशनले रेशम चौधरीलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेपनि निर्वाचन आयोगले उनलाई अध्यक्ष स्वीकार गरेन । निर्वाचन आयोगको उक्त निर्णयविरुद्ध रेशमले आयोग र रञ्जितालाई समेत विपक्षी बनाएर सर्वोच्चमा रिट दायर गरे ।
उनको रिट निवेदनमा सर्वोच्चले रञ्जितासँग लिखित जवाफ माग्यो । रञ्जिताले लिखित जवाफमा रेशमले फौजदारी मुद्दामा सजाय पाएकाले उनी सदस्य बन्न पनि योग्य नरहेको जवाफ पठाएकी थिईन् ।
रेशम–रञ्जिता एकले अर्कोलाई दोष लगाउँदै आएका थिए । तर, केही दिनदेखि रेशम–रञ्जिताको भेटवार्ता बाक्लिएको छ । उनीहरु सँगै मिटिङ, लञ्च, डिनरमा देखिएका छन् ।
आज (शनिबार) विहानको बैठकपछि रेशमले सामाजिक सञ्जालमार्फत फोटो सार्वजनिक गर्दै भनेका छन्, ‘महासचिव ठाकुर सिङ थारुलाई साक्षी राखेर ‘पार्टी र सरकार दुवै तिमी चलाउ’ भन्ने आग्रहका साथ मैले पनि यो फोटो पोष्ट गरेँ ।’
त्यस्तै, रञ्जिताले पनि परिवारमा कुनै समस्या नरहेको बताएकी छन् । साथै, रेशमले अब छिट्टै लुम्बिनी र सुदूरपश्चिम सरकारबाट बाहिरिने घोषणासमेत गरेका छन् ।

