पुर्व मुख्यमन्त्रीका छोरा जुवाखालबाट पक्राउ !

काठमाडौं, १४ वैशाख । नेकपा एमलेका नेता एवं सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र सिंह रावलका छोरा जुवाखालबाट पक्राउ परेका छन् ।
कञ्चनपुरको भीमदत्त नगरपालिका-६ ऐठपुर बस्ने ४६ वर्षीय लालबहादुर सिंहको कालिका रेष्टुरेन्टबाट सिंहसहित ११ जना जुवाडे पक्राउ परेको प्रहरीले जनाएको छ। सोही खालबाट पुर्व मुख्यमन्त्री रावलका छोरा पनि पक्राउ परेका हुन्।
राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी समेत रहेका निरज रावल सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावलका छोरा भएको र पक्राउ पर्दा उनी तास खेलीरहेको अवस्थामा भेटिएको प्रहरीको भनाइ छ।
साथै पक्राउ पर्नेमा रावलसहित भीमदत्त नगरपालिका-६ का डम्मर भट्ट, धर्मराज जोशी, भीमदत्त नगरपालिका-७ का बलदेव भट्ट, भीमदत्त नगरपालिका-४ का राजेश सोनी, भीमदत्त नगरपालिका-१९ का अमिर बिष्ट, कोहलपुरका सुरत बहादुर शाही, शुक्लाफाटा रामदत्त भट्ट, भीमदत्त नगरपालिका-१८ का आशिष खत्री र वडानम्बर-५ का धिरेन्द्र बहादुर सिंह रहेका छन्।
उनीहरु रेस्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा समातिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता डीएसपी उमेशराज जोशीले जनाए । जुवाखालबाट ५७ हजार ३२९ नगद र १३१ पत्ति तास बरामद गरिएको थियो।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ।

