आइस्पानको चेतावनी: जुनसुकै बेला पनि इन्टरनेट बन्द हुन सक्छ

काठमाडौं, १४ वैशाख । इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान)ले नेपालभर जतिबेला पनि इन्टरनेट सेवा अवरुद्ध हुन सक्ने चेतावनी दिएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आइस्पानले नेपालभरका घर तथा कार्यालयमा जोडिएको इन्टरनेटको सेवा जतिबेला पनि अवरुद्ध हुन सक्ने चेतावनी दिएको हो ।
भारतीय कम्पनी एयरटेलबाट इन्टरनेट ब्याण्डविथ खरिद गरेबापतको रकम भुक्तानी गर्न सरकारले अवरोध गरेका कारण नेपालभर जतिबेला पनि इन्टरनेट सेवा भारतबाटै काटिन सक्ने आइस्पानका अध्यक्ष सुधीर पराजुलीले बताए ।
पराजुलीका अनुसार इन्टरनेट ब्याण्डविथको खरिद गर्दा तिर्नुपर्ने पैसाको सरकारले सिफारिस नदिँदा अहिलेको इन्टरनेट ब्याण्डविथको १२ महिनाको करिब ३ अर्ब रुपैयाँ भारतीय कम्पनी एयरटेललाई पठाउन सकिएको छैन । त्यहीकारण उताबाट इन्टरनेट सेवा काटिन सक्ने रिस्क छ ।
‘भारतीय कम्पनीबाट खरिद गरेको पैसा पठाउन ताकेता पत्र २ दिन अगाडि आइसकेको छ। तर, सरकारले सिफारिस नदिँदा उक्त पैसा बैंकमा अड्किएर बसेको छु, पराजुलीले सुनाए ।
आइस्पानले अब हुने इन्टरनेट बन्दको जिम्मा सरकारले लिनुपर्ने जनाउँदै इन्टरनेट ब्याण्डविथ खरिदको पैसा तत्काल सिफारिस गरेर सरकारले सहजीकरण नगरे सर्वोच्चमा जाने समेत आइस्पानले चेतावनी दिएको छ ।

