‘उथलपुथल’को भूमरीमा प्रचण्ड !
कांग्रेस-एमाले गठबन्धनको कसरत हुँदैकाठमाडौं । सत्ता ‘उथलपुथल’ गर्न माहिर मानिएका नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पछिल्लो समय तनावग्रस्त छन् ।
कांग्रेससँगको गठबन्धन भत्काएर एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सहित पाँच दलीय नयाँ सत्ता गठबन्धन बनाएका प्रचण्डले यसैलाई ‘उथलपुथल’ भनेका थिए। उनले आफू बाँचिरहे सम्म उथलपुथल भैरहने समेत बताएका थिए । तर, अहिले त्यही ‘उथलपुथल’का कारण प्रधानमन्त्री प्रचण्ड तनावग्रस्त छन् । कांग्रेससँग ‘डिभोर्स’ गरी एमाले र रास्वपासँग बनाएको नयाँ गठबन्धन प्रचण्डलाई निकै भारी पर्ने विश्लेषकहरु बताउँछन् ।
२०७९ मंसिर ४ मा निर्वाचन सम्पन्न भएपछि माओवादी अध्यक्ष प्रचण्डले कांग्रेससँगको गठबन्धन तोडेर पुस १० मा एमालेसँग गठबन्धन गरि प्रधानमन्त्री बनेका थिए। तर त्यो गठबन्धनमा ३ महिना पनि नटिकेका प्रचण्ड पुनः कांग्रेस सहितको गठबन्धनमै फर्केका थिए। त्यसपछि कांग्रेससँग जम्मा जम्मी ११ महिनाको सत्ता सहकार्य गरेपछि फागुन २१ मा प्रचण्डले फेरी एमालेसँग मिलेर मन्त्रीपरिषद् पुनर्गठन गरेका थिए । यसैलाई उनले सत्तामा नयाँ प्रयोग,उथलपुथल र वाम एकताको आधार जस्ता नाम दिएका थिए ।
तर,यतिबेला प्रचण्डको हतास शैली र बाहिर आएका कुरालाई आधार मान्ने हो भने यो सत्ता गठबन्धनको आयु लामो छैन।इलाम-२ को उपनिर्वाचन लगत्तै सत्तामा उलटफेर हुनसक्ने अनुमान धेरैले गर्न थालेका छन् ।यदि बाहिरी हल्ला जस्तै प्रचण्ड सरकार नयाँ ‘उथलपुथल’ नजिक पुगेको हो भने यसपटक प्रचण्डले होइन प्रचण्ड माथी उथलपुथल हुने निश्चित छ। अर्थात संसदको ठूलो दल नेपाली कांग्रेस र अर्को ठुलो दल नेकपा एमाले बिचमा सत्ता सहकार्य हुनसक्ने छ।यो भनेको प्रचण्डको लागि ठूलो धक्का हुनसक्छ ।

यतिबेला सर्वत्र आलोचित बनेको सहकारी ठगी, सुन प्रकरण र भुटानी शरणार्थी काण्डले प्रचण्ड संकटमा पुगेका छन् । सहकारी ठगीको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई स्वार्थ बाझिने गरी उपप्रधानमन्त्री सहित गृह मन्त्रालयको जिम्मेवारी दिनु प्रधानमन्त्री प्रचण्डका लागि सबैभन्दा पेचिलो विषय भएको छ ।यो कुरालाई जनताले समेत राम्रो मानेका छैनन् । उता, प्रमुख प्रतिपक्षी दल कांग्रेसले यसैलाई मुल मुद्दा बनाएर सदनमा आन्दोलन चर्काएको र अब सडकमा समेत ओर्लने रणनीति बनाएको छ ।
रास्वपा सभापति रवि लामिछानेलाई गृहमन्त्री बनाएकोमा विपक्षी दल कांग्रेस र राप्रपा मात्र होइन, सत्ता घटक दलमै पनि ठुलो असन्तुष्टि छ । तर,सरकार जोगाउनुपर्ने संसदीय अङ्कगणितको बाध्यताका कारण प्रचण्ड यो कुरामा बोल्न सकिरहेका छैनन् ।
प्रचण्ड सरकारलाई समर्थन गरिरहेको नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टी पनि प्रचण्ड प्रती सशङ्कित छ । समाजवादी भित्र अध्यक्ष माधवकुमार नेपाल र झलनाथ खनालका छुट्टाछुट्टै अभिव्यक्ति आउनु अनि नागरिक उन्मुक्तिको विवादले पनि प्रचण्ड अफ्ट्यारोमा छन् । समाजवादीले एमालेले आफुलाई पेल्न खोज्दा प्रचण्डले प्रतिवाद नगरेको भनिरहेको छ। सुदुर पश्चिम र बागमती प्रदेश सरकार गठनमा समाजवादीलाई एमालेले दु:ख दिएको र हेपेको समाजवादीका नेताहरूको बुझाइ छ।
यहि बिचमा प्रमुख विपक्षी दल कांग्रेस र सत्तामा नै रहेको नेकपा एमालेका नेताहरू बिच भेटघाट बाक्लिएको छ। उनीहरुको भेटघाट प्रतिपक्षी र सत्ता पक्ष भएर भन्दा पनि अब संगै अघि बढौ भन्नेमा केन्द्रित रहेको बुझिएको छ। कांग्रेस र एमालेका शीर्ष नेताहरूबिच समीकरण बनाउने विषयमा छलफल भएको सूचना प्रचण्डले समेत पाइसकेका छन् । तर,उनी केही बोल्न सकिरहेका छैनन् ।
प्रचण्डबाट एक्कासि धोका पाएको कांग्रेस र बिगतदेखी पटकपटक धोका पाएको एमाले मिल्न पनि सक्छन् भन्ने अनुमान प्रचण्डले लगाइसकेका छन् । तर,जसरी पनि नयाँ समीकरण बन्न नदिने उनको योजना छ। जसको कारण रवि लामिछानेका विरुद्ध जे जस्ता कुरा बाहिर आएपनी प्रचण्ड ‘एक्सन’ लिने मुडमा छैनन् ।

