टिकापुर हत्याकाण्डमा रेशम दोषी भएकोले अध्यक्ष बन्न नमिल्ने सर्वोच्चलाई रन्जिताको जवाफ

काठमाडौं । नेपाली राजनीतिमा फेरि एकपटक चमत्कार भएको छ। श्रीमान-श्रीमतीको झगडाका कारण चर्चामा रहेको नागरिक उन्मुक्ति पार्टीको बहसले सर्बोच्च अदालतमा समेत चर्चा पाएको छ।

जेलमा रहदा मेरा श्रीमान(रेशम चौधरी) निर्दोष छन् छुटाइदिनुपर्‍यो भन्दै प्रधानमन्त्रीदेखि राष्ट्रपति सम्म बिन्ती चढाउने उनै रन्जिता श्रेष्ठले अहिले पार्टीबाट रेशमलाई हटाउन सर्बोच्चलाई ‘टिकापुर हत्याकाण्ड’मा रेशम दोषी छन् भन्ने जवाफ दिएकी छन् ।

पार्टीका संरक्षक रहेका रेशम गत बर्ष जेठ १५ को गणतन्त्र दिवसका दिन राष्ट्रपतिबाट आम माफी पाएर छुटेपछि सक्रिय राजनीतिमा देखिएका थिए। उनी केही समयअघि भएको महाधिवेशनबाट पार्टी अध्यक्ष निर्वाचित भएका थिए। तर,उनको अध्यक्ष पद सहित निर्वाचित केन्द्रिय समितिलाई निर्वाचन आयोगले मान्यता दिएन। त्यसबिरुद्ध सर्बोच्च गएका रेशमको मुद्दामा रन्जिताले यस्तो जवाफ दिएकी हुन् ।

नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष श्रेष्ठले पतिसमेत रहेका रेशम चौधरी हत्या मुद्दामा दोषी ठहर व्यक्ति भएकाले आफ्नो पार्टीको संगठित सदस्यसमेत हुन लायक नभएको जवाफ सर्वोच्च अदालतलाई दिएको स्रोतको भनाइ छ। निर्वाचन आयोगको निर्णय विरुद्ध सर्बोच्च पुगेका रेशमको रिटको सुनुवाइ गर्दै सर्वाेच्चले रेशमको मागअनुसार आदेश किन जारी नगर्ने ? भन्ने लिखित जवाफ दिन विपक्षीहरूलाई आदेश दिएको थियो।

उक्त आदेशबमोजिम लिखित जवाफ पठाउँदै अध्यक्ष श्रेष्ठले टीकापुर हत्याकाण्डमा दोषी ठहर रेशम पार्टीको विधानबमोजिम संगठित सदस्यसमेत हुन अयोग्य रहेको जिकिर गरेकी हुन्। रेशमको रिट नै खारेज हुनुपर्ने माग समेत रन्जिताले सर्वाेच्चसँग गरेकी छन्।

‘अदालतले फौजदारी मुद्दा फैसला गर्दा नै विपक्षीले सभ्य समाजको अपेक्षा र मानवीय चेतनाविरुद्ध अत्यन्त अमानवीय क्रूर र निर्मम ढंगले ज्यान मारेको भन्ने उल्लेख गरेको छ। ज्यान मार्ने सबै कार्य र जन्म कैद हुने सबै कार्य नैतिक पतन देखिने फौजदारी अपराध नहुन सक्छ तर अदालतले फैसला गर्दा उल्लेख गरेको व्यहोराबाट निजको कार्य नैतिकवान वा सभ्य थियो भन्न मिल्दैन’, रञ्जिताले लेखेको जवाफमा भनिएको छ, ‘नैतिकताभित्र कुन तरिकाले कसरी मानिसको हत्या भएको छ भन्ने कुरालाई नहेरी निरपेक्ष रूपमा विपक्षीले उल्लेख गर्दैमा सो कुरालाई (नैतिक पतन नभएको) मान्न मिल्दैन।’

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय