विश्वभरबाट ‘महाजात्रा’ले कमायो २७ करोड

काठमाडौं, १० वैशाख । प्रदिप भट्टराई निर्देशित चलचित्र ‘महाजात्रा’ ले विश्वभरबाट झन्डै २७ करोडको ब्यापार गरेको छ । यो खुद कमाई वा नाफा होइन ग्रस कलेक्सन हो।

एक महिना अघि २०८० चैत ९ मा रिलिज भएको यो चलचित्र अझै हलहरुमा प्रयाप्त शो सहित चलिरहेको छ। ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो शृङ्खला ‘महाजात्रा’ले नेपालमा १६ करोड र अन्तर्राष्ट्रिय बजारमा १० करोड ९० लाख ग्रस कलेक्सन गरेको छ।

आफ्नै लगानीका अघिल्ला फिल्मको रेकर्ड तोडेपछि निर्माण टिमले खुशी व्यक्त गरेको छ। त्यस्तै ‘महाजात्रा’ अन्तर्राष्ट्रिय बजारमा सर्वाधिक कमाइ गर्ने नेपाली फिल्म बनेको छ । यस अघि प्रेमगीत-३ ले पनि भारत सहित अन्तर्राष्ट्रिय बजारमा राम्रो कमाइ गरेको थियो। चलचित्रका निर्माता म्याक्स दीपेश खत्रीका अनुसार चलचित्र ‘महाजात्रा’ले नेपाली चलचित्रको बजार विश्वभर बिस्तार गर्न संभव छ भन्ने प्रमाणित गरेको छ। त्यसैगरी कार्यकारी निर्माता तथा अभिनेता रविन्द्र सिंह बानियाँले पनि चलचित्रको ब्यापारबाट अर्को चलचित्र निर्माणका लागि थप हौसला आएको बताए। यहि टिमले २०८२ को दशैमा अर्को नयाँ चलचित्र निर्माण गर्ने जनाएको छ।

अन्तर्राष्ट्रिय वितरक कम्पनी एमएसएम इन्टरटेन्मेन्टले उपलब्ध गराएको तथ्याङ्क अनुसार नेपालपछिको दोस्रो ठुलो मार्केट मानिने अस्ट्रेलियामा महाजात्राले ९० शो, संयुक्तराज अमेरिकामा ६५ शो, न्युजिल्यान्डमा १४ शो, युरोप अन्तर्गतका देशमा ५० शो, क्यानडामा १२ शो, जापानमा १५ शो र दक्षिण कोरियामा १२ शो पाएर प्रदर्शन भइसकेको छ ।

चलचित्र महाजात्रा हलमै पुगेर नेकपा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, नेसपा अध्यक्ष एवं पुर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई,पुर्व प्रधानमन्त्री झलनाथ खनाल,उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने पूर्वरानी कोमल राज्यलक्ष्मी शाह लगायतका विशिष्ट व्यक्तिले हेरेर सकारात्मक प्रतिक्रिया दिएका थिए।

चलचित्रमा हरिवंश आचार्य, वर्षा राउत, दिव्य देव, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय