माओवादी छाडेका युवा रास्वपा उम्मेदवार !

काठमाडौ । आगामी बैशाख १५ गते हुने इलाम क्षेत्र नम्बर -२ को उपनिर्वाचनमा नयाँ पुराना दलहरूले उम्मेदवार टुंगो लगाउन थालेका छन् ।
नेकपा एमाले उपाध्यक्ष स्व.सुभाष नेम्वाङको निधनपछी रिक्त रहेको सो क्षेत्रमा एमालेले सुभाष नेम्वाङकै कान्छो छोरा सुहाङ नेम्वाङलाई उम्मेदवार टुंगो लगाइसकेको छ। यद्यपि इलामको जनताको बिचमा सुभाष नेम्वाङका छोरा भएर चिनिनु बाहेक सुहाङको अन्य राजनीतिक भुमिका छैन।
यसैगरी नेपाली कांग्रेसले सुभाष नेम्वाङसंगै पराजित दिपक खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको छ। उनी गत २०७९ मंसिर ४ को निर्वाचनमा सुभाष नेम्वाङसंग ११४ मतले पराजित भएका थिए। यद्यपि नेम्वाङ एक्लै लड्दा खड्कालाई नेकपा माओवादी केन्द्र,नेकपा एकीकृत समाजवादी लगायत तत्कालीन पाँच दलिय गठबन्धनको समर्थन थियो।
उता नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले पनि उपनिर्वाचनमा आ-आफ्नै उम्मेदवार उठाउने तयारी गरेका छन् ।तर,पछिल्लो सत्ता गठबन्धनको एकता हेर्दा माओवादी र समाजवादी सहित जसपाले समेत एमाले उम्मेदवारलाई सघाउने देखिन्छ।
उता बर्तमान सत्ता गठबन्धनमा मुख्य हिस्सेदार रहेको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले भने सत्ता गठबन्धको साझा उम्मेदवार नहुने भन्दै आफ्नो छुट्टै उम्मेदवार उठाउने निर्णय गरिसकेको छ।रास्वपाले चैत १७ गते पार्टी सभापति एवं गृहमन्त्री रवि लामिछाने सहितका नेताको उपस्थितिमा इलाममै उम्मेदवार घोषणाको कार्यक्रम राखेको छ।
रास्वपाले स्थानीय हुनुपर्ने,जनजाति हुनुपर्ने र जनताको बिचमा चिनिएको उम्मेदवार हुनुपर्ने लगायत सर्त राखेर उम्मेदवार आवव्हान गरेको छ।पार्टी सहमहामन्त्री एवं संगठन बिभाग प्रमुख कबिन्द्र बुर्लाकोटीलाई इलाममै खटाएर रास्वपाले तयारी तीब्र पारेको भएपनी उम्मेदवार भने टुंगो लगाएको छैन।
तर,यसअघि नै स्वतन्त्र उम्मेदवारी घोषणा गरिसकेका युवा नेता मिलन लिम्बुलाई नै रास्वपाले उम्मेदवार बनाउने पक्का पक्की जस्तै छ। ३२ बर्षिय मिलन लिम्बु रास्वपाले खोजेकै जस्तो युवा,स्थानीय र जनजाति उम्मेदवार हुन् । यद्यपि उनी नेकपा माओवादी केन्द्रको राजनीति गर्दै आएका युवा हुन् । दुई साता अघि मात्रै उनले पार्टीको आवद्धता त्यागेर स्वतन्त्र भएका हुन् ।मिलनले आफुलाई स्थानीय र अर्गानिक उम्मेदवार भनेर चिनाएका छन् । उनले आफू इलामको पहिचान ‘अकबरे’खुर्सानी जस्तै स्वादिलो र सबैलाई चाहिने उम्मेदवार भएको भन्दै आएका छन् ।

मिलन र रास्वपा सभापति रवि लामिछाने बिच भेटघाट र कुराकानी भैसकेको छ भने रास्वपाका अन्य केन्द्रिय नेताले पनि मिलनसङ्ग पटकपटक भेट गरेका छन् । चैत १७ को उम्मेदवार घोषणा सभामा मिलन लिम्बु नै रास्वपाको उम्मेदवार हुने स्रोतको भनाइ छ। मिलन र रविको फोटो समेत यतिबेला सामाजिक संजालमा चर्चामा छ।

