के विनोद चौधरी पक्राउ पर्दैछन् ?

काठमाडौं, ८ चैत । बाँसबारी जग्गा प्रकरणमा नाम जोडिएका नेपाली कांग्रेस केन्द्रिय सदस्य एवं प्रतिनिधि सभा सांसद विनोद चौधरीलाई प्रहरीले बयानका लागि बोलाउने तयारी गरेको छ।
चौधरी समूहका तीन भाइ मध्य विनोद जेठो दाजु हुन् । उनका माइलो भाइ वसन्त चौधरी र कान्छो भाइ अरुण चौधरीलाई प्रहरीले वयान लिइसकेको छ। त्यसो त अरुण चौधरी पक्राउ परेर पनि अहिले धरौटीमा छुटेका हुन् ।
काठमाडौ महानगरपालिका वडा नम्बर-३ स्थित बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा हिनामिना प्रकरणमा चौधरी ग्रुपका ३ दाजुभाइ नै अनुसन्धानको दायरामा आएका हुन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले चौधरी ग्रुपका वसन्त चौधरीलाई बुधबार घटना विवरण कागज गराएको छ ।
बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हडपेर आफ्नो कम्पनीको नाममा ल्याएको आरोपमा कान्छो भाइ अरुण चौधरीलाई ब्युरोले माघ १८ मा पक्राउ गरेको थियो । जिल्ला अदालत काठमाडौँको आदेशनमा उनि ‘हाजिर जमानी’ मा रिहा भएका छन् । उनिमाथी अनुसन्धान जारी छ।
सीआईबीले विनोदबारे पनि अनुसन्धान भइरहेको जानकारी सभामुखलाई गराइसकेको छ । सभामुख देवराज घिमिरेलाई सीआइबीले पत्र नै लेखेर विनोदबारे जानकारी दिएसँगै उनलाई बयानमा बोलाउने प्रहरीको तयारी छ । के अब विनोद पक्राउ पर्छन् वा उनिमाथी कसरी बयान लिइन्छ ? यो बिषय चर्चामा छ। विनोद बिश्वको धनाड्यहरुको सुचिमा परेका नेपालका एकमात्र व्यवसायी हुन् ।बाँसबारी जग्गा प्रकरणमा उनी समेत जोडिएका छन् ।
चौधरी दाजुभाइ संलग्न रहेको चौधरी ग्रुपले बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा हडपेर च्याम्पियन फुटवेयर मार्फत अहिले चाँदबाग रेसिडेन्सी प्रालिमा ल्याइएको सीआइबीको बुझाइ छ। जसमा सांसद विनोद चौधरीको समेत शेयर स्पष्ट देखिएको छ।
उनको २ सय कित्ता शेयर भनिएको उक्त १० रोपनी जग्गामा अहिले चौधरी ग्रुपले ‘चाँदबाग स्कुल’ संचालन गरिरहेको छ । पछिल्लो समय उक्त जग्गा सरकारले फिर्ता लिने र चौधरी दाजुभाइलाई उन्मुक्ति दिने भन्ने हल्ला समेत बाहिर आएपछि त्यसको अझै बढी अनुसन्धान प्रहरीले गरिरहेको बुझिएको छ।

