बाबुरामको आत्मालोचना: ‘प्रचण्डलाई गोरखा २ छोड्नु कमजोरी भयो’

काठमाडौ, ६ चैत । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले पुराना शक्तिलाई विश्वास गरेर गोरखा-२ निर्वाचन क्षेत्र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई छोड्नु कमजोरी भएको बताएका छन् ।
पार्टी केन्द्रिय समिति बैठकमा सम्बोधन गर्दै डा. भट्टराईले माओवादीसँग उदार भएकोमा आत्मा आलोचना गरेका हुन् । बैठकमा बाबुरामको कमजोरीप्रति केन्द्रीय सदस्यहरूले पनि प्रश्न उठाएपछि उनले आत्मालोचना गर्दै सो स्पष्टीकरण दिनुपरेको हो।
अधिकांश नेताहरूले माओवादीको चुनाव चिन्ह लिएको, पार्टीभित्र सल्लाह नगरी प्रचण्डलाई गोरखा २ छोडेकोमा असन्तुष्टि जनाएका थिए । नेताहरूले उठाएको प्रश्नको जवाफ दिँदै भट्टराईले आफ्नो कमजोरी स्वीकार गरेर आत्मालोचना गरेको केन्द्रीय सदस्य कृष्णप्रसाद शर्माले बताए ।‘म अलि उदार र आदर्श भएँ । पुराना शक्तिलाई विश्वास गरेँ । आँखा चिम्लिएर गोरखा पनि छोडिदियौँ । माओवादीको चुनाव चिन्ह पनि लियौँ । यसमा मैले गल्ती गरेँ । नियतवश गर्न खोजेको होइन । तर हाम्रो इमानदारिता फाइदा उठाउँदै क्यास गरे । यसमा मेरो कमजोरी रह्यो’, बाबुरामको भनाइ उदृद्ध गर्दै शर्माले भने ।

