मानुषीलाई पत्र: दिदी कहाँ छौ ?

प्रतिक भट्ट

प्रिय दिदी मानुषी यमि भट्टराई !

नेपाली राजनीतिमा पछिल्लो पटक देखिएका सबैजसो बिषयमा हाम्रो पुस्ता जानकार छ। तपाईं हाम्रो पुस्ताको नेतृत्व गर्दै आएको र भोलिको दिनमा पनि गर्न सक्ने क्षमता भएको कुशल नेतृ हो भन्ने हामीले बुझेका छौं । अहिलेको पुष्ताले खोजेको नेतृत्व तपाईं जस्तै हो। अझ भन्नैपर्दा हाम्रो पुस्ताको नेतृत्व गर्नेको राजनीतिक छवि स्वच्छ होस्, असल, सरल, शिक्षित अनि समाजको वर्ग विभेद बुझेको र अग्रगामी साेच होस् ।

विचारमा स्पष्टता होस्, सिद्धान्त र नैतिकतालाई स्वार्थ र लाभको पदसँग नबेचेच्ने होस् अनि बैकल्पिक शक्ति निर्माणका निम्ति राजनीतिमा जोडिन खोज्ने युवा पुस्ताको मार्गदर्शक र नेतृत्व गर्न सक्ने होस् ।सायद मैले बुझेको मानुषीमा यी कुरा अवस्य छन् ।

तपाईंलाई थाहा छ आज युवा पुस्ता राजनीतिमा आउँन चाहदैनन् । एकातिर उनीहरुले राजनीति नै मन पराउँदैनन् र अर्कोतिर उनीहरुले देशभित्र आफ्नो भविष्य नै देख्न छाडिसकेका छन् । यस मानेमा हाम्रालागि तपाईं सहि हुनुहुन्छ, जसले देशमै आफ्नो ब्यक्तिगत र राजनीतिक भविष्य दुवै देखेको छ। विदेशमा पढेको, बुबा-आमाले गरिबका छोराछोरीलाई बन्दुक बोकाएर तपाईंलाई बुर्जुवा शिक्षा लिन लगाएको जस्ता आरोप तपाईं माथि लागेकै हो । तर, मैले बुझेको मानुषीले विदेशमा होइन त्रिभुवन विश्वविद्यालयबाट नै स्नातकोत्तरको पढाइ सक्नुभएको हो। त्यहीँ तपाईंले विद्यार्थी राजनीतिमा पनि आफुलाई अब्बल सावित गर्दै स्वतन्त्र विद्यार्थी युनियनको सचीव हुनुभयो। आज सम्म पनि तपाईं राजनीति मै सक्रिय हुनुहुन्छ र वैकल्पिक शक्ति निर्माणमा लागिरहनुभएको छ।

आरोप लगाउने वा गलत भन्नेहरूले जे जस्तो आरोप लगाएपनि वा बुझ्नेले जसरी बुझेपनी तपाईंले राजनीतिलाई धमिल्याउनु भएको छैन । सधैं अग्रगामी र वैकल्पिक शक्ति निर्माणको पक्षमा उभिने तपाईले युवाहरूलाई राजनीतिमा लाग्ने प्रेरणा दिइ नै रहनुभएको छ । राजनीतिलाई ‘फोहोरी खेल’ भन्नेहरूदेखि राजा आऊ, देश बचाऊ भन्ने पश्चगामीहरुको अगाडी तपाईं अग्रगामी विचार सहित देशको अवस्था परिवर्तन गर्न खटिइरहनुहोस् ।

प्रिय दिदी, यहाँ मैले तपाईंलाई पत्र लेख्नुको कारण भने अझै अर्कै छ। तपाईंले समाचार सुन्नुभएकै होला, टेलिभिजन र सामाजिक संजाल हेर्नुभएकै होला । एकपटक सोच्नुस् त दिदी । तपाईंका बुबा २०२६ सालको एसएलसी बोर्ड फष्ट हुँदै आर्किटेक इन्जिनियर समेत रहनुभएका पुर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई र आमा इन्जिनियरिङ विषयको प्राध्यापक हुँदै लामो राजनीतिक इतिहास र महिला मुक्तिको आन्दोलनमा अग्रणी एवं पुर्व मन्त्री हिसिला यमी । सायद म गलत छैन भने तपाईंको मावली तर्फका हजुरबुबा धर्मरत्न यमीको पनि लामो राजनीतिक पृष्ठभुमि र हैसियत राम्रो थियो।

२००७ साल अघिको राणा शासन र २०१७ सालपछिको पन्चायती व्यवस्था,२०४६ सालपछिको बहुदलीय व्यवस्था हुँदै २०५२ सालमा सुरुभएको जनयुद्ध अनि ०६२/०६३ को ऐतिहासिक जनआन्दोलन पछि आजको संघीय लोकतान्त्रिक गणतन्त्र सम्म आइपुग्दा तपाईंको परिवारको योगदानलाई कसैले नजरअन्दाज गर्न मिल्दैन । त्यसमाथि आज जुन संविधान मार्फत हामिले संघीयता,लोकतान्त्रिक गणतन्त्र र धर्मनिरपेक्षको  उपभोग गर्न पाएका छौं यसमा तपाईंको बुबा-आमाको योगदान कसैले चाहेर पनि बिर्सन मिल्दैन ।

तर, दिदी मानुषी तपाईंको बुबा हिजो जुन पार्टीमा हुनुहुन्थ्यो त्यो पार्टीको अध्यक्ष अर्थात सुप्रिमो पुष्पकमल दाहाल क. प्रचण्ड आज देशको प्रधानमन्त्री हुनुहुन्छ । त्यो पनि ३ पटक भइसक्नुभयो । अनि त्यही पार्टीमा नेतृत्वमा रहेका नेता रामबहादुर थापा बादल, कृष्णबहादुर महरा, अग्नि सापकोटा, नन्दकिशोर पुन, वर्षमान पुन, टोपबहादुर रायमाझी, देवेन्द्र पौडेल लगायत सबै नेतालाई तपाईं पक्कै चिन्नुहुन्छ। अनि उहाँहरुको परिवार र छोराछोरी त झन तपाईंको उमेर समुहकै हुनुहुन्छ होला होइन त ? तपाईं भन्दा केही वर्ष जेठो वा कान्छो हुनु  फरक कुरा हो तर उमेर समुह र हिजोको वर्ग एउटै हो।

आज उहाँहरुको बजारमा यति धेरै चर्चा हुँदा दिदी तपाई कहाँ हुनुहुन्छ ? तपाईंको पुर्व अध्यक्ष क.प्रचण्डकी छोरी रेणु दाहाल भरतपुर महानगरपालिकाको २ पटक मेयर हुँदा र कान्छी छोरी गङ्गा दाहालले प्रधानमन्त्री कार्यालयको खर्चमा देश विदेश घुमिरहँदा अनि उहाँको श्रीमान जीवन आचार्य पटक पटक मन्त्री भइराख्दा तपाईं कहाँ हुनुहुन्छ ?

कमरेड प्रचण्डको बुहारी बिना मगर पटकपटक सांसद र मन्त्री भैसक्नुभयो। भाइ नारायण दाहाल मात्रै होइन, ज्वाइँका पनि ज्वाइँ महाज्वाइँ सम्मले फाइदा लिइसक्दा तपाईंका ‘बा’ ले तपाईंलाई कतै सेटिङ मिलाउन सक्नुभएन किन ? अझ तपाईंको ‘बा’ ले नयाँ शक्ति निर्माण गर्न लाग्दा र त्यसपछि आजका दिनसम्म प्रचण्डले धोका मात्रै दिइरहेको पनि तपाईंलाई जानकारी छ होला !

भर्खरै पनि तपाइँको ‘बा’ अध्यक्ष रहनुभएको नेपाल समाजवादी पार्टीका केही नेतालाई प्रचण्डले गुलियो देखाएर फकाउनु भयो होइन त ? अनि त्यो गुलियोमा तपाईं भुल्नुभएन वा रुचाउनु भएन ? आज हेर्नुस त कतिले के-के पाइसके !

दिदी, अनि साँच्चै अग्‍नि सापकोटाको छोरा चीनमा अध्ययन सकेर प्रधानमन्त्रीको सल्लाहकार भइसक्नुभयो । देवेन्द्र पौडेलको छोरी अमेरिका हुनुहुन्छ, वर्षमान पुनको छोरा चीनमा पढ्ने, जनार्दन शर्माको छोरा अमेरिका, रेणु दाहालको पनि छोरीको बिहे देख्नुभयो होला कस्तो धुमधाम थियो । ओहो ! दिदी त्यो बिहे र तपाईंको बिहे धेरै फरक थियो नि बुझ्नुभयो ? तपाईंले त आफ्नो क्षमता र आम नेपालीको हैसियत अनुसारको बिहे गर्नुभयो । तर,दिदी संयोग मैले तपाईंको बिहेमा पनि उपस्थित हुन पाए र गोकर्णको बिहे पनि देख्न पाए । तर,दिदी बिहे हुनु त त्यस्तो पो !

अनि दिदी अर्को कुरा सहकारी ठगी, ‘सुन’ तस्करी र ‘भुटानी शरणार्थी’ बारे कत्तिको जानकार हुनुहुन्छ ? हेर्नुस् त ती सबैमा तपाईंको उमेर समुह मात्रै होइन तपाईंकै चिनजानका साथीहरू पो चर्चामा छन्। तपाईंको ‘बा’ का साथीका छोराहरुले त्यत्रो प्रगति गर्दा तपाईं कता हुनुहुन्छ ? हिन्दिमा एउटा उखान छ नि ‘नाम हो या बदनाम हो,गुमनाम न हो’ । हेर्नुस् त दिदी महरा कमरेडको छोरा ‘सुन’ काण्डमा, नन्दकिशोर पुनका छोरा सहकारी र ‘सुन’ काण्डमा अनि बादल र टोपबहादुर कमरेडका छोरा ‘नक्कली भुटानी शरणार्थी’ काण्डमा कति चर्चामा छन् ! आजपनी शक्तिशाली उनीहरुनै छन् ! क्या दामी जीवन छ उनीहरुको ! अझै प्रचण्ड पुत्र प्रकाश बाचिरहेको भए के-के चमत्कार हुन्थ्यो होला है ! उहाँ जति समय बाच्नुभयो त्यतिमै चर्चाको शिखरमा हुनुहुन्थ्यो कसैले रिस गरेर केही हुन्छ त !

त्यसैले दिदी तपाईंको कहिँ कुनै ‘सेटिङ’ मा संलग्नता नहुनु वा नाम नआउनुको कारण के होला ? तपाईंको राजनीति यसैगरी अगाडी बढ्ला त दिदी ? तपाईं त गोल्ड मेडलिस्ट पनि हो नि । तर,’गोल्डमेडल’ तपाईंको हात लाग्दा किलो र क्वीन्टल ‘गोल्ड’ अरुले पो पचाएछन् है ! कस्तो अचम्म, जनयुद्धको अन्तिम लक्ष्य समाजवाद होइन रहेछ नि समाजवाद भनेको त सत्ता,सुन र सहकारी ठगी पो रहेछ ! यसमा पनि तपाईंको योग्यता नपुगेको देखियो।साच्चै दिदी यी सबै कुरामा तपाईंको योग्यता नपुगेको भए त्यसलाई बढाउने र ‘गोल्डमेडल’ को सट्टामा ‘डायमण्ड मेडल’ पो लिने हो कि !

दिदी अन्त्यमा, तपाईंको तर्फबाट जवाफ चाहन्छु कि ‘प्रचण्डपथ’ को राजनीतिले देश र जनतालाई समृद्धि र विकास दिन सक्छ त ? यहि निर्वाचन प्रणाली,यस्तै किनबेच,यस्तै गठबन्धन र यस्तै लुछाचुँडीले युवा पलायन रोक्न सक्छ ? पुष्पकमल दाहाल  प्रचण्ड, केपी शर्मा ओली,शेरबहादुर देउवा वा यिनैको स्कुलिङबाट आएका दोस्रो वा तेस्रो पुस्ताले राजनीति गरेर नेपालीको जीवन स्तर उकास्न सक्छन् ? यी र यस्तै प्रश्न मनमा खेल्न थालेपछि तपाईंलाई सम्बोधन गरेर यो पत्र लेखेको छु । आशा छ जवाफ अवस्य पाउने छु।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय