फुट्यो नेसपा, एक्लिए बाबुराम; महिन्द्र समूहले माओवादीसँग एकता गर्ने

काठमाडौं, ३ चैत । डा. बाबुराम भट्टराईद्वारा गठित नेपाल समाजवादी पार्टी (नेसपा) फुटेको छ । पार्टीका अध्यक्ष महिन्द्र राय यादव समूहले पार्टी फुटाएर नेकपा माओवादी केन्द्रसँग एकता गर्ने सहमति गरेसँगै बाबुराम समूह एक्लिएको हो ।
पार्टी एकता सम्बन्धी छलफलमा बाबुराम भट्टराईलाई पनि सहभागी गराउने प्रयास असफल भएपछि नेसपा फुटको संघारमा पुगेको थियो । महिन्द्र रायले माओवादीसँग एकता गर्ने सहमति गरेका हुन् ।
माओवादीका अध्यक्ष प्रचण्डको अध्यक्षतामा आज बसेको एकता संयोजन समितिको बैठकले पार्टी एकता गर्ने सहमति गरेको छ । बैठकले एकीकृत पार्टीको नाम भने आगामी महाधिवेशनबाट टुंगो लगाउने निर्णय गरेको छ ।
पार्टी एकताका लागि वैचारिक एकरुपता र संगठनात्मक तयारीका लागि कार्यदल गठन गरिएको छ । कार्यदलमा माओवादीको तर्फबाट महासचिव देवप्रसाद गुरुङ र उपमहासचिव जनार्दन शर्मा तथा नेसपाबाट सहअध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेशप्रसाद यादव रहेका छन् ।
लामो समयदेखि नेसपा र माओवादीबीच पार्टी एकता गर्ने कुरा चलिरहेको भएपनि बाबुराम भट्टराईले मानिरहेका थिएनन् । यद्यपि केही समयअघि भने बाबुराम पनि पार्टी एकताबारे सकारात्मक देखिएको भएपनि वैचारिक भिन्नताका कारण पछिल्लो समय एकता गर्ने पक्षमा थिएनन् ।


