प्रधानमन्त्री प्रचण्डले आज संसदमा विश्वासको मत लिँदै

काठमाडौं, ३० फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनधिसभाको बैठकमा विश्वासको मत लिँदैछन् । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने कार्यसूची छ।
यही फागुन २१ गते सत्ता गठबन्धनमा परिवर्तन भएसँगै नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई दिएको विश्वासको मत फिर्ता लिएपछि आज पुनः प्रधानमन्त्रीले विश्वासको मत लिन लागेका हुन्। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रचण्ड २०७९ पुस १० गते प्रधानमन्त्रीमा चयन भएका थिए। यसअघि उनले २०७९ पुस २६ गते विश्वासको मत लिएका थिए।
नेपाल कम्युनिष्ट पार्टी (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीलगायतको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले पहिलोपटक प्रतिनिधिसभामा रहेका अधिकांश दल र सांसदको विश्वासको मत प्राप्त गरेका थिए । त्यसपछि काँग्रेस, जसपा, नेकपा एसलगायत पार्टीसँगको संयुक्त गठबन्धन सरकार गठन गरेपछि विश्वासको मत लिएका प्रचण्डले फेरि गठबन्धन फेरेपछि विश्वासको मत लिन लागेका हुन् ।
यसपटक उनी पहिलो गठबन्धनजस्तै माओवादी केन्द्र, एमाले, रास्वपा, जसपा र नेकपा एस मिलेर बनेको गठबन्धनको नेतृत्व गरिरहेका छन् । उनको पक्षमा १५० भन्दा बढी सांसद रहने देखिन्छ ।

