नेपाली कांग्रेस र बदलिएको सत्ता समीकरण…

नानु दाहाल

नेपाली राजनीतिमा फेरि एकपटक नयाँ पुराना दल मिसिएर अर्को गठबन्धन बनेको छ। गठबन्धन पहिलो पटक बनेको होइन र अन्तिम पनि होइन। विगतदेखि जे-जति गठबन्धन बन्दै र भत्किँदै आए ती नागरिक सरोकारको लागि थिएनन् । केवल सत्ता र स्वार्थका लागि मात्रै गठबन्धन बन्ने र भत्किने हुँदै आएको तितो यथार्थ हामीसँग छ। यसलाई पछिल्लो सत्ता समीकरणले पनि तथ्य र सत्य सहित पुष्टि गरिसकेको छ।

यसपटक गठबन्धनबाट नेपाली कांग्रेस बाहिरिएको छ । अर्थात गठबन्धनमा कांग्रेस छैन। खासमा हुनुपर्ने पनि थिएन। गठबन्धनमा परिएन वा पारिएन भन्दा पनि प्रचण्ड साम्राज्यबाट बाहिर निस्कन पाइएकोमा नै कांग्रेसले खुशी हुनुपर्छ । धन्न १ वर्षमै प्रचण्डपथ छाडेर कांग्रेसले आफ्नै बाटो समातेर अगाडि बढ्न पाएको छ।

खासमा यो गठबन्धनमा मिसिएका ‘मिसन-०८४ वाला नयाँ दल’ र कम्युनिस्ट अनि मधेसवादी दलको अबको सत्ता लुछाचुँडी कांग्रेसले प्रतिपक्षमा बसेर हेर्न पाएकोमा पनि गर्व गर्नुपर्छ। कांग्रेस नहुदाको सरकार कत्तिको जनपक्षीय हुन्छ र जनताको पक्षमा कस्तो सुशासन दिन सक्छ त्यो पनि बाहिरै बसेर हेरौं न। आखिर सुन काण्ड, जग्गा काण्ड, बैंक तथा सहकारी ठगी काण्ड जस्ता काण्डै काण्ड त सेलाएको छैन । हिजोसम्म संसदमा टेबल ठोकेर ठुला र चर्का स्वरमा कराउनेहरु आज सत्तामा पुगेका छन् । आशा छ ती बिरोधका स्वर अझै उर्लेर जानेछन् र जनताले न्याय नपाउदासम्म मथ्थर हुनेछैनन !

अबको समय भनेको सचेत जनताले कोदो र तोरी छुट्याउने समय हो। अर्थात् कुन कोदो हो र कुन तोरी हो भन्ने चिनेर नै आगामी दिनमा जनताको फैसला आउने छ। अहिलेको राजनीतिक परिवर्तनले दिएको सन्देश भनेको गठबन्धन र प्रचण्ड साम्राज्यबाट मुक्त भएको कांग्रेसले आफुलाइ जनताको अगाडी अब्बल सावित गर्ने अवसर पनि हो।

जनताको मतबाट पहिलो ठूलो दल भएर पनि प्रचण्ड साम्राज्यमा केही थान मन्त्री लिएर रुमल्लिएर बस्नुभन्दा कांग्रेस सत्ता बाहिर नै बसेर जनताको मुद्दामा केन्द्रित हुनु अहिलेको लागि बुद्धिमानी हुनेछ। हेर्दा सरकारमा भएको देखिने तर,नागरिकका मुद्दा सम्बोधन गर्न नसकिने,आर्थिक संकट्देखी महँगी,भ्रष्टाचार, मिटरब्याज,लघुबित्त र सहकारी पीडितको आवाजलाई उठाउन समेत नसकिने भएपछि गठबन्धनको सरकारमा बसिरहनु कांग्रेसको हितमा थिएन। जनताको गुनासो सम्बोधन गर्न नसक्ने भएपछि सत्ता भन्दा सडकनै प्यारो ठान्नुपर्छ। त्यसैले यो गठबन्धन भत्किदा कांग्रेसलाई कुनै नोक्सानी वा बेचैनी छैन।

देश र जनताको लागि एउटै दलको बहुमत नहुदा काम गर्न अफ्ट्यारो हुने र जनताका समस्या तत्काल हल नहुने भएपछि मिलेर नै चुनाव लडौ र सरकार गठन गरौं भनेर हिजोको दिनमा माओवादीले दिएको दु:ख र हैरानीलाई बिर्सेर,कांग्रेस भन्ने खोजीखोजी काटेको बिर्सेर नेकपा माओवादी केन्द्र,मधेसवादी लगायत दलहरूसँग गठबन्धन गरिएकै हो।

कम्युनिस्ट वा मधेसवादी दुबैसँग नेपाली कांग्रेसको सोच फरक,दृष्टिकोण फरक, वाद फरक, बिचार फरक,नीति फरक,सिद्धान्त फरक हुँदैहुँदै पनि गठबन्धन गर्नुपर्नेको कुरामा आम कांग्रेसका नेताकार्यकर्ताको मन मानेकै थिएन। जीवनभर रुखमा बाहेक अन्त भोट नदिएका ८० बर्ष हाराहारीका मेरा बुबा आमाले समेत पार्टीको निर्णय भनेर गठबन्धनका उम्मेदवारलाई जिताएकै हो। पार्टीको निर्णय मानेर गरिएको त्यस कार्यमा कुनै गुनासो छैन।

तर,नेपाली कांग्रेससँग आबद्ध भएका ८ लाख भन्दा बढी क्रीयाशिल सदस्य र त्यो भन्दा धेरै साधारण सदस्य अनि कांग्रेसलाई माया गर्ने लाखौं शुभेच्छुक र शुभचिन्तकलाई हेरेर अब पार्टीको निर्णय आउनुपर्छ । अहिले आकस्मिक रुपमा हेर्दा चुनौती देखिए पनि कांग्रेसका लागि यो सुनौलो अवसर पनि हो। अब कांग्रेस सिधै जनताका मुद्दामा केन्द्रित हुनुपर्छ, जनताको गुनासो सुन्नुपर्छ र हरेक समस्यामा जनतासँगै हुनुपर्छ ।

पार्टी रुपान्तरणका लागि र आम नेताकार्यकर्ताको भावनासँगै बलियो र बदलिएको कांग्रेस बनाउनेतर्फ सबै लाग्नुपर्छ । हामीले नै भन्दै आएको गठबन्धन विना एक्लै चुनाव लड्न सक्ने कांग्रेस बनाउन पनि गज्जब अवसर जुटेको छ। अब कम्युनिस्ट वा अन्यसँग होइन पार्टी भित्रै एकता र गठबन्धन गर्नुपर्नेछ।

यसर्थ, अब कांग्रेसका आम नेताकार्यकर्ताले यो वा त्यो गुटमा रमाएर होइन एकताबद्ध भएर अगाडी बढ्न कम्युनिस्टहरुले दिएको अवसर हो भन्ने बुझ्नुपर्छ । अब कम्युनिस्टहरुको घुर्की, धम्की, भागबन्डा, सत्ताको छिनाझम्टीमा लागेर फेरि चुनाव आएपछि अर्काको सहारामा उभिने होइन आफ्नै खुट्टामा उभिने कांग्रेस बनाउनु हामी सबैको दायित्व हुनेछ। यसो भयो भने २००७ सालदेखी यता सबैजसो राजनीतिक परिवर्तनको आन्दोलनमा मुख्य भुमिका खेल्दै आएको कांग्रेसको भविस्य अझै सुनौलो हुनेछ । जय नेपाल !!!

(लेखक नेपाली काँग्रेस बागमती प्रदेश सदस्य हुन्)

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय