नेपालविरुद्ध नेदरल्यान्ड्सको रोमाञ्‍चक जीत

काठमाडौं, १६ फागुन । काठमाडौंमा जारी नेपाल, नामिबिया र नेदरल्यान्डस सम्मिलित त्रिदेशीय टी-२० श्रृंखलाको दोस्रो खेलमा नेपालले झिनो हार व्यहोरेको छ । नेपाललाई नेदरल्यान्ड्सले २ रनले हराएको हो ।

नेदरल्यान्डसले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १८२ रन मात्र बनाउन सक्यो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले शानदार ब्याटिङ गर्दै ३४ बलमा ६३ रन बनाएको भएपनि जीतनजिक पुगेर आउट हुँदा नेपाल पराजित हुन पुग्यो । कप्तान रोहितकुमार पौडेलले पनि अर्धशतक बनाए । उनी ३५ बलमा ५० रन बनाएर आउट भए । त्यस्तै ओपनर आसिफ शेखले ३४ रन बनाए ।

नेदरल्यान्ड्सका रोलफ भाड डर मर्वेले ४ ओभरमा २४ रन दिएर २ विकेट लिए । साइब्रान्ड एङ्गलब्रेटले २ ओभरमा १३ रन दिएर २ विकेट लिए । भिभियन किङ्‍मा, टिम भान डर गुग्टेन र आरु्यन दत्तले १ १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेदरल्यान्डसले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १८४ रन बनायो । ओपनर माइकल लेभिटले आक्रामक ब्याटिङ गर्दै ३६ बलमा ५ चौका र ३ छक्काको मद्दतले ५४ रन बनाए । त्यस्तै साइब्रान्ड एङ्गलब्रेटले पनि अविजित ४९ रन बनाए । कप्तान स्कट एडवार्ड्सले ३३ तथा तेजा निदामानुरुले ३१ रन बनाए ।

नेपालका लागि करण केसीले ३ ओभरमा २९ रन दिएर २ विकेट लिए । त्यस्तै कुशल मल्लले ४ ओभरमा ३७ रन दिएर १ विकेट लिए ।

आइसिसी क्रिकेट विश्वकप लिग-२ को श्रृंखला सकिएसँगै तीन टोलीले आउँदै गरेको टी२० विश्‍वकपको तयारी स्वरुप टी२० श्रृंखला खेल्न लागेका हुन् । आगामी जुनमा हुने टी२० विश्‍वकपमा नामिबिया र नेदरल्यान्ड्स पनि खेल्दैछन् र नेपाल र नेदरल्यान्ड्स एकै समूहमा समेत रहेका छन् ।

प्रत्येक टोलीले एकअर्कासँग २ खेल खेल्ने छन् । तीन टोलीमध्ये शीर्ष २ ले आगामी मङ्गलबार हुने फाइनल खेल्ने छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय