माओवादी बैठक : ‘एकपटक कांग्रेसलाई देखाइदिउँ’

काठमाडौं, १५ फागुन । सत्ताको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठकमा हालै सम्पन्न नेपाली कांग्रेसको महासमिति बैठक र उक्त बैठकमा भएका छलफल सहित पारित प्रस्तावबारे चर्चा भएको छ।

मंगलबार बिहान बसेको बैठकमा प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष प्रचण्डले कुनै प्रतिक्रिया नदिएको तर,धेरैजसो नेताले ‘एकपटक सिरियस कुरा गरौं नत्र कांग्रेसलाई देखाइदिउँ’ समेत भनेका थिए। कांग्रेसको फागुन ७ गतेदेखि १० गतेसम्म ललितपुरको गोदावरीमा भएको महासमिति बैठकमा महामन्त्री गगन थापाले प्रस्तुत गरेको ‘गठबन्धन नगर्ने’ प्रस्ताव पारित भएको थियो ।

उक्त बैठकमा महामन्त्री गगनकुमार थापाले सांगठनिक प्रस्ताव, विश्वप्रकाश शर्माले समसामयिक राजनैतिक प्रस्ताव र उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव पेश गरेका थिए । महामन्त्री थापाले पेश गरेको सांगठनिक प्रस्तावमा आगामी निर्वाचनमा गठबन्धन नगर्ने कुरालाई लिएर माओवादी बैठकमा छलफल भएको हो। त्यसैगरी, उपसभापति खड्काको नीति प्रस्तावमा उल्लेख भएका कतिपय शब्द र बुँदाहरुमा समेत माओवादी नेताहरुको आपत्ति रहेको बैठकमा सुनियो।

उपसभापति खड्काले पेश गरेको नीति प्रस्तावमा माओवादीले भन्ने गरेको १० वर्षे जनयुद्धलाई ‘माओवादीको हिंसात्मक सशस्त्र द्वन्द्व’ भनी उल्लेख छ । त्यसैगरी ‘अनाहक सशस्त्र हिंसाको राजनीति शुरु भयो’ भनेर माओवादी १० वर्षे सशस्त्र युद्धको औचित्यमाथि नै प्रश्न उठाइएको छ ।

खड्काको प्रस्तावमा भनिएको छ-‘तत्कालीन उग्रवामपन्थीहरूले त्यो उन्नति यात्राको प्रस्थान पटक्कै रुचाएनन् । कथित र अनावश्यक सशस्त्र हिंसाको राजनीति शुरु भयो । सशस्त्र द्वन्द्वको नाममा मुलुक फेरि अर्को दलदलको भासमा फस्यो । विकास र सम्वृद्धिको त्यो यात्रा अवरुद्ध भयो । ध्वंश विध्वंशहरू भए । विकास संरचना भत्किए र थप विकास अवरुद्ध भयो । यति धेरै क्षति हुने गरी यो विध्वंशको आवश्यकता थिएन।’

सत्ता साझेदार र संसदको ठूलो दल कांग्रेसको महासमिति बैठकमा माओवादीमाथि गरिएको टीकाटिप्पणी र आगामी निर्वाचनमा गठबन्धन नगर्ने प्रस्तावबारे माओवादी स्थायी समिति सदस्यले अध्यक्ष प्रचण्डलाई कांग्रेससँग एकपटक सिरियस कुरा गर्नुपर्ने सुझाएका थिए ।

खासगरी महामन्त्री गगन थापाले भनेको जस्तै गर्दा कांग्रेसलाई तत्काल बाम एकता होला भन्ने पिर एकातिर छ भने राष्ट्रिय सभाको अध्यक्ष सहित इलामको उप निर्वाचनमा समेत धक्का पुग्ने देखिन्छ।

यहि कमजोरीलाई टेकेर माओवादीका नेताहरूले राष्ट्रिय सभा अध्यक्ष पद कांग्रेसलाई नछाड्न समेत प्रचण्ड माथी दबाब दिएको बुझिएको छ। यद्यपि यो बिषयमा भोलिको बैठकले टुंगो लगाउने भनिएको छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय