लिग २ क्रिकेट: नेपालमाथि नेदरल्यान्ड्सको सहज जीत

काठमाडौं, १३ फागुन । आइसिसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपाल, नामिबिया र नेदरल्यान्ड्स सम्मिलित त्रिकोणात्मक श्रृंखलामा नेपालले तेस्रो हार व्यहोरेको छ । आइतबार भएको श्रृंखलाको अन्तिम खेलमा नेपाललाई नेदरल्यान्ड्सले ८ विकेटले हराएको हो ।

नेपालले दिएको १७३ रनको लक्ष्य नेदरल्यान्ड्सले ३८औं ओभरमा केवल २ विकेटको क्षतिमा पूरा गर्‍यो । नेदरल्यान्ड्सका लागि विक्रमजित सिंहले अविजित ५८ तथा साइब्रान्ड एङ्गलब्रेटले अविजित ४६ रन बनाए । दुई मिलेर तेस्रो विकेटका लागि अविजित १०२ रनको साझेदारी गरे । त्यसअघि ओपनर म्याक्स ओडाउड २८ रनमा र माइकल लेभिट ३९ रन बनाएर पेभेलियन फर्किए । नेपालका लागि ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले १-१ विकेट लिए ।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९.२ ओभरमा अलआउट हुँदै १७२ रन बनाएको थियो । नेपालका लागि ओपनर कुशल भुर्तेलले अर्धशतकीय पारी खेलेका थिए । ९३ बल खेल्दै कुशलले ८ चौकासहित ६६ रन बनाए । त्यस्तै करण केसीले २६ तथा आरिफ शेखले २२ रन बनाए । अर्का ‌ओपनर आसिफ शेखले १७ तथा कप्तान रोहित पौडेलले १६ रन बनाए ।

नेदरल्यान्ड्सका आर्यन दत्तले १० ओभरमा १६ रन दिएर ३ विकेट लिए । त्यस्तै भिभियन किङ्‍माले १० ओभरमा रन दिएर विकेट लिए । बास डे लिडेले २ तथा रोलफ भान डर मर्वेले १ विकेट लिए ।

नेपालले यस श्रृंखलामा चार खेलमध्ये एक खेल मात्र जित्‍न सक्यो । पहिलो खेलमा नामिबियासँग ४ विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा नेदरल्यान्ड्सविरुद्ध जीत हासिल गरेको थियो । तेस्रो खेलमा नेपाल नामिबियासँग पुनः पराजित हुन पुगेको थियो ।

यस श्रृंखलामा नामिबियाले ३ खेल जितेर ६ अंक जोड्दा नेदरल्यान्ड्सले २ खेल जितेर ४ अंक जोड्यो । नेपाल भने एक खेलमा मात्र जित सहित २ अंकमा सीमित रह्‍यो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय