लिग २ क्रिकेट: नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दै

काठमाडौं, १३ फागुन । आइसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपाल, नामिबिया र नेदरल्यान्ड्स सम्मिलित त्रिकोणात्मक श्रृंखलाको अन्तिम खेलमा नेपालले आज नेदरल्यान्ड्ससँग दोस्रोपटक खेल्दै छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार विहान सवा ९ बजेदेखि सुरु हुनेछ । खेलको डिशहोम एक्सन स्पोर्ट्स च्यानलमा तथा डिशहोम गो मार्फत प्रत्यक्ष प्रसारण हेर्न सकिनेछ ।
नेपालको कप्तानी रोहितकुमार पौडेलले गर्ने छन् भने नेदरल्यान्ड्सको कप्तानी स्कट एडवार्ड्सले गर्ने छन् । यसै श्रृंखलाअन्तर्गत भएको पहिलो खेलमा नेपालले नेदरल्यान्ड्सलाई १३८ रनमा अलआउट गर्दै ९ विकेटले खेल जितेको थियो ।
त्यसअघि अघिल्लो बिहिबार भएको पहिलो खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको थियो । नेपालले दिएको १३३ रनको सामान्य लक्ष्य नामिबियाले ३३.१ ओभरमा ६ विकेटको क्षतिमा पूरा गरेको थियो ।
दोस्रो खेलमा नेदरल्यान्ड्सलाई हराएको नेपाल पुनः नामिबियासँग ३ विकेटले पराजित हुन पुग्यो । नेपाल र नेदरल्यान्ड्स ३ खेलबाट समान २ अंकमा छन् । नामिबियाले भने ४ खेलमा तीन जितसहित ६ अंक जोडिसकेको छ ।

