छोराको बिहेको तयारी गर्न धुम्बाराही डेराबाट आज आफ्नै घरमा सर्दै देउवा

काठमाडौं, ३ माघ । गत वर्ष पुस १० गते सत्ता गुमाएपछि धुम्बाराहीमा डेरा लिएर बसेका पुर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज धुम्बाराहीबाट आफ्नो निवास बुढानीलकण्ठ गर्ने भएका छन् ।
आफ्नो घर मर्मत गर्नुपर्ने भएकोले प्रधानमन्त्रीबाट हटे लगत्तै सभापति देउवा करिब १३ महिना अघि प्रधानमन्त्री निवास बालुवाटारबाट धुम्बाराहीस्थिति कूटनीतिज्ञ कुलचन्द्र गौतमको घरमा भाडामा बसेका थिए।देउवाको पारिवारिक स्रोतले बताए अनुसार आज (बुधबार) बूढानीलकण्ठस्थित आफ्नो निवासमा सर्न साइत जुरेको छ। देउवाले हरेक काम ज्योतिषको परामर्श लिएर मात्रै गर्ने गरेका छन् ।
सभापति देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाका अनुसार बुढानीलकण्ठको निवासको मर्मत कार्य सकिएको र आगामी माघ २१ मा छोरा जयवीरसिंह देउवाको बिबाह समेत भएकोले धुम्बाराहीको भाडाको घर छोड्न लागिएको हो।
सभापति देउवा र आरजु राणाको एकमात्र सन्तान छोरा जयवीरसिंहले यही माघ २१ गते शिवाना श्रेष्ठसँग विवाह गर्न लागेका छन्। जयवीर र शिवानाले ८ महिना अघि इन्गेजमेन्ट गरेका थिए। गत जेठ १ मा देउवा र श्रेष्ठका परिवार र केही साथीहरू उपस्थित समारोहमा जयवीरले शिवाना श्रेष्ठसँग इन्गेजमेन्ट गरेका थिए ।

