काठमाडौंमा मङ्गलबार र बुधबार हल्का वर्षाको सम्भावना

काठमाडौं, २९ पुस । काठमाडौंमा पर्सि मङ्गलबारदेखि केही दिन मौसम बदली हुने भएको छ । मौसमविद् उज्जवल उपाध्यायका अनुसार आउँदो मङ्गलबारदेखि केही दिन काठमाडौंमा घाम कम लाग्ने छ ।
उपाध्यायका अनुसार काठमाडौंमा मङ्गलबार र बुधबार हल्का वर्षाको सम्भावना पनि देखिएको छ । त्यस्तै तराईका जिल्लाहरुमा हुस्सु कम भएपनि घाम लाग्न भने गाह्रो छ ।
उनका अनुसार काठमाडौंमा मंगलबारदेखि कम्तीमा ३-दिन घाम लाग्न गाह्रो छ । अन्य स्थानमा पनि मौसम बदली भई चिसो बढ्ने छ । तराईमा हुस्सु नलागे पनि चिसो भने बढ्ने उनको भनाई छ ।
त्यसैगरी उच्च हिमाली भेग खासगरी खुम्बु, दोलखाको गौरिशंकर, रसुवाको लाङ्टाङ, गोरखाको मनासलु, मनाङ-मुस्ताङ-कास्कीको अन्नपूर्णक्षेत्र र उपल्लो डोल्पा क्षेत्रमा हिमपात हुने देखिएको छ ।

