शिवम दुबेको अर्धशतकमा भारतले अफगानिस्तानलाई हरायो

काठमाडौं, २६ पुस । भारत र अफगानिस्तानको टी२० श्रृंखला अन्तर्गत बिहिबार भएको पहिलो खेलमा भारत विजयी भएको छ । भारतले अफगानिस्तानलाई ६ विकेटले हराएको हो ।
अफगानिस्तानले दिएको १५९ रनको लक्ष्य भारतले बल अगावै ४ विकेट गुमाएर भेट्टायो । भारतका शिवम दुबेले अविजित रहँदै सर्वाधिक ६० रनको अर्धशतकीय पारी खेले । त्यस्तै जितेश शर्माले ३१ तिलक वर्माले २६ र शुभमन गिलले २३ रन बनाए ।
अफगानिस्तानका मुजिब उर रहमानले ४ ओभरमा १ मेडनसहित २१ रन दिएर २ विकेट लिए भने अजमतुल्लाह ओमरजाइले ४ ओभरमा ३३ रन दिएर १ विकेट लिए ।
त्यसअघि अफगानिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १५८ रन बनाएको थियो । मोहम्मद नाबीले सर्वाधिक ४२ रन बनाए । २७ बल खेलेका उनले २ चौका र ३ छक्का प्रहार गरेका थिए । त्यस्तै जमतुल्लाह ओमरजाईले २२ बलमा २९ रन बनाए ।
भारतका अक्षर पटेलले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए । मुकेश कुमारले ४ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए । शिवम दुबेले १ विकेट लिए ।

