सरकारले गरेको २० करोडको सम्झौता राष्ट्रघात हो: एमाले सचेतक बर्तौला

काठमाडौं, २५ पुस । नेकपा एमालेका सचेतक महेशकुमार बर्तौलाले भारतीय दूतावासले नेपालमा सिधै २० करोड रुपैयाँ खर्च गर्न पाउने सरकारले गरेको सम्झौता राष्ट्रघात भएको टिप्पणी गरेका छन् ।
बुधवार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले सरकारले गरेको सम्झौता संविधानको धारा ५ बमोजिम नरहेको जिकिर समेत गरे ।
‘भारतसँग ५ करोडको जे कार्यान्वयनको प्रक्रिया थियो, त्यो प्रक्रियाका सम्बन्धमा नेपालमा अरु पार्टीका पनि सरकार थिए भन्ने संकेत गर्नुभएको छ । कतिपय कमजोरी बिचमा भएका भएपनि अहिलेको सरकारले सच्याएर नयाँ ढंगबाट जाने हो’ उनले भने, ‘कमजोरीलाई सिरानी हालेर अर्को कमजोरी गर्न मिल्छ ? नेपालको संविधानको धारा ५ बमोजिमको अहिलेको सम्झौता हो ? नेपालको स्वाधिनता, सार्वभौम सत्ता, राष्ट्रिय स्वतन्त्रता, स्वाभिमानलाई जोगाउने गरी यो सम्झौता भएको छ ? यो कुरा ठोकुवाका साथ भन्न सक्नुहुन्छ ? सम्झौतप्रति तपाई गर्व गर्दै हुनुहुन्छ तर यो सम्झौताले देशको राष्ट्रघात भएको छ । स्वाभिमानको जरा काट्ने काम भएको छ ।’
उनले यो सम्झौताले नेपालको स्वाधिनता, सार्वभौम सत्ता, राष्ट्रिय स्वतन्त्रता, स्वाभिमानप्रति बेइमानी गरेको बताए । उनले सम्झौताले स्वाभिमानको जरा काट्ने काम भएको बताए । उनले भारत सरकारसँग भएको सम्झौताको प्रतिलिपी सांसदहरुले पाउनुपर्ने बताए । ‘प्रधानमन्त्रीज्युले केही कुरा त बताउनुभयो । तर भएको सम्झौता के हो ? सम्झौताको प्रति संसदले संसद नचलेको बेलामा यो विषयगत समिति र यो समिति अन्तर्राष्ट्रिय सन्धि र सम्झौतासँग हाम्रो क्षेत्राधिकारको विषय पनि हो ।

